Logo

साहित्य-वार्ता : निष्पक्ष भावना नै लेखकको सबैभन्दा ठूलो गुण हो



दिव्य गिरी-
जन्म : इमाडोल, (तत्कालीन गाउँ, वडा नं.१,) ललितपुर
जन्ममितिः २०११
हाल बसोबासः महालक्ष्मी न.पा.५, टिकाथली, ललितपुर ।
माता/पिताः मिनु/भरत गिरी
सेवा : १. वागमती अञ्चल अदालतमा मिति २०२९ वैशाख ९ देखि २०३० कार्तिक मसान्तसम्म ।
२. त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा मिति २०३० मङ्सिरदेखि २०७४ कार्तिकसम्म ।

पहिलो प्रकाशित रचनाहरूः
१. कविताः २०३२ फागुन २ गतेको संरक्षक साप्ताहिक पत्रिकामा गुलाफ रहेछ कागजको
२. गजलः अभिव्यक्ति, पौष २०३८
३. कथाः रहर, अभिव्यक्ति पूर्णाङ्कः २१, २०३६ र
४. लघुकथाः खेल, पूर्वाद्र्घ (साहित्यिक गोजिका पत्रिका) असार, २०३७ मा प्रकाशित भएको थियो ।

हालसम्म प्रकाशित सङ्ग्रहहरू :
१.कङ्काल बस्ती (मुक्तकसङ्ग्रह), २०३८)
२.सागर लहर किनार (गजलसङ्ग्रह, २०५३)
३. धुनी तापेर (हाइकुसङ्ग्रह, २०६१)
४.अनामिका (कथासङ्ग्रह, २०६१)
५. स्वप्निल शिविर (मुक्तकसङ्ग्रह, २०६४),
६. हराएका इलाकाहरू (कवितासङ्ग्रह, २०७३)
७. भँेडीगोठ र भेडो (लघुकथासङ्ग्रह, २०७३)
८. सम्झनामा शकुन्तला (संस्मरणसङ्ग्रह, २०७६),
९.अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा त्जभ व्गदष्बिलत एबिथ शीर्षकको हाइकुसङ्ग्रह २०७८
१०. पुत्लादहलसाल र पुत्लादहन (लघुकथासङ्ग्रह), २०७८

हालसम्म प्राप्त गरेका पुरस्कार एवम् सम्मानः
(क) सम्मानः
विशिष्टकथा सम्मान— रचना रजत जयन्ती अन्तर्राष्ट्रिय कथा प्रतियोगिता २००५, सिक्कम, भारत । (रचना रजत जयन्ती कथा अङ्कमा समावेश गरिएको पहिचान शीर्षकको कथाको निम्ति विशिष्ट कथा सम्मान प्राप्त भएको ।)
(ख) पुरस्कारः
१. द्वितीय पुरस्कार, दीपिका कथा प्रतियोगिता, दीपिका साहित्यिक पत्रिका, काठमाडौ, २०३७ ।
२. उत्कृष्ट मुक्तकको लागि वैजयन्ती स्रष्टा सम्मान, वैजयन्ती प्रकाशन, काठमाडौं, २०७२ ।
३. प्रथम पुरस्कार, राष्ट्रिय लघुकथा प्रतियोगिता, गोरखापत्र संस्थान, काठमाडौं, २०७४ ।
४. धनमान लघुकथा पुरस्कार, लघुकथा समाज, नेपाल, काठमाडौं, २०७७ ।
५. हरिकला–गुणाकर दायित्व रचना पुरस्कार, दायित्व वाङ्मय प्रतिष्ठान, काठमाडौं, २०७७ ।
६. सुलेख आख्यान प्रतिभा पुरस्कार, सुरभि साहित्य प्रतिष्ठान, काठमाडौं, २०७८ ।
संलग्न संघसंस्थाः
१. सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
२. उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर ।
३. सदस्य, नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौं ।
४. आजीवन सदस्य, नेपाल स्रष्टा समाज, काठमाडौं ।
५. कार्यकारी सदस्य, चेतन कार्की प्रतिष्ठान, २०७७, ललितपुर ।
६. संयोजक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लुम्बिनी प्रदेश ।
७. संस्थापक संयोजक, मोतिटारबन्धु सामाजिक कोष, महालक्ष्मी नगरपालिका, वडा नं.५, टीकाथली, ललितपुर (२०६३ देखि हालसम्म) ।
सह—सम्पादकः सौरभ (साहित्यिक द्वैमासिक) २०३७—२०३९, ललितपुर ।
सम्पादन : दुर्गामान सिंहका गीत र भजन (लोकगीत तथा भजनसङ्ग्रह), २०६१

अन्य अनुभवः कम्प्युटरबाट तथ्याङ्क प्रशोधन, गोष्ठी तथा कार्यशालाको प्रोसिडिङ रिपोर्ट राइटिङ, तालीम सञ्चालन तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी विविध कार्य ।

सहभागिताः
साहित्यकार भवानी घिमिरेले नेतृत्व गर्नुभएको वि.सं. २०३६ को सडक कविता क्रान्तिमा सहभागी ।

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
वि.सं.२०२९ देखि लेख्न सुरू गरेको हुँ । त्यसै वर्षको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा मेरो पनि कविता वाचनमा छनोट भएको थियो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
भानुभक्तको रामायण पढेर र रेडियो नेपालको साहित्यिक कार्यक्रम सुनेर ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
ठीकै किसिमले अघि बढिरहेछ ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
आफ्नो लेखनप्रति अहिलेसम्म सन्तुष्ट नै छु । आफूलाई मन परेको विधामा केही कृति प्रकाशन गरेको छु । केही प्रकाशनको संघारमा छन् ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अब दुईवटा कृति (एउटा संस्मरण र अर्को कथासङ्ग्रह) प्रकाशनका लागि अन्तिम चरणमा पुगेका छन् ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य, कला र संस्कृतिको विकासले देशको पहिचानलाई विश्वसामु अभैm चिनाउँछ । त्यसैले पनि राष्ट्रले साहित्य र स्रष्टा दुवैप्रति महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्दछ ।

तपाईंको साहित्यिक आदर्श के हो ?
आफ्नो देशको भाषा साहित्यको विकासमा केही योगदान दिने ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
यो प्रश्नको ठीक उत्तर पाउन खोजतलास अर्थात् अनुसन्धान नै गर्नुपर्ला तर म आफूले भने लेखकीय दायित्त्व वहन गरेजस्तो अनुभव गरेको छु ।

तपाईंआफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

जति प्राप्त गर्न सकिएको छ– त्यसमा असन्तुष्ट हुनै पर्छ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

नेपाली भाषा साहित्यका विभिन्न विधामा लेखन र प्रकाशन दुवै पढेको छ तर नाटक विधाका कृति नगन्य सङ्ख्यामा प्रकाशन भएका छन् । संस्मरण र यात्रा संस्मरण लेख्ने त धेरै देखिएका छन् । कोरोना महामारीको समयमा घरभित्रै बन्दी हुनुपर्दाको कारण केही व्यक्ति जो सरकारी, संस्था, शिक्षासेवा, सेना, प्रहरी र यस्तै÷यस्तै अनेक सेवाबाट अवकाश भएका व्यक्तिले पनि अवकाशको जीवन बिताउने क्रममा साहित्य सिर्जनामा लागेर साहित्यिक कृति प्रकाशन गरेका छन् । यो खुसीको कुरा हो । सबैले अब्बल साहित्य नै लेख्छन् भन्ने पनि छैन । अहिले गद्य साहित्यका पाठक बढी छन् । कविताका कृतिको विक्री खासै हुँदैन । प्रविधिको विकासले पनि कृति पठनमा ह्रास आएको छ । सबै मानिस मोबाइलमा समय धेरै बिताउँछन् । किताब पल्टाएर पढ्ने कमै छन् । त्यसैले पनि पहिलेको तुलनामा पाठकको सङ्ख्या भने घटेको छन् ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
देश र समाजको हित गर्ने ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

विश्व परिवेश, देशको राजनीतिक परिवर्तनभित्रका अनेक चलखेल, समाजमा घटिरहेका विविध घटना, देशको शासन व्यवस्थामा बढिरहेको भ्रष्टाचारका शृङ्खला, बढ्दो महँगी र बेरोजगार, अन्याय, अत्याचार, बलात्कारपछिको हत्याजस्ता अनेक सामाजिक विकृति र विसङ्गति आदि विषयले नै लेखनमा थप ऊर्जा अर्थात प्रेरणा दिन्छन् ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

त्यस्तो खासै निश्चित समय त छैन । आफूलाई अनुकूल मिलेको समयमा लेख्न थालिन्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
शान्त र एकान्त ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

खासगरी म कविता, मुक्तक, गजल, हाइकु, कथा, लघुकथा आदि लेख्छु । आफूलाई जतिखेर जुन कुरा मनमा आउँछ– त्यसैलाई लेख्ने गर्छु । मुक्तक र हाइकुजस्ता साना कविता तत्कालै पनि लेख्छु । अरूचाहिँ बढी समय दिएर लेख्नुपर्छ ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?

देशको भाषा साहित्यमा निरन्तर लागिरहने स्वच्छ छवि र निष्पक्ष भावना लेखकको सबैभन्दा ठूलो गुण हो जस्तो लाग्छ । सर्वप्रिय कृति दिन सकेको खण्डमा जो पनि सफल स्रष्टा बन्न सक्छ ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

आख्यानमा विशेषगरी कथा, लघुकथा, उपन्यास, यात्रासंस्मरण र निबन्धका पाठक बढी छन् ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

सिर्जनामा सजीवता र काल्पनिकता दुवैको महत्त्व र आवश्यकता हुन्छ । घटी र बढी हुनु भन्नुभन्दा पनि जुन विषयमा जे कुराको आवश्यकता बढी हुन्छ– त्यसैलाई प्राथमिकता दिनुपर्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

जब कुनै घटना परिवेशले आफूलाई भित्रैदेखि छुन्छ– तब लेखिन्छ । त्यो कविता पनि हुन सक्छ, कथा पनि र मुक्तकदेखि तीन हरफीय हाइकु पनि ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?

साहित्यको अध्ययन र लेखनमा निरन्तरता दिइरहने ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?

पद, पुरस्कार र प्रतिष्ठाका लागि ।



प्रतिक्रिया दिनुहोस्