काठमाडौं,१८ मंसिर । धनकुटामा एक वडाध्यक्षको घरमा अज्ञात समूहले आगजानी गरेका छन् । जिल्लाको पाख्रीबास नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा सोमबार बिहान १ बजे आगोको मुस्लो देखिएको हो ।
मस्त निन्द्राबाट ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाएपछि उनी पत्नीसहित बाहिर निस्कन खोजेका थिए । तर, धुँवाका कारण सम्भव नभएपछि उनले छिमेकी गुहारे।
एकैछिनमा भेला भएका छिमेकीहरूले भर्याङ दिएर झ्यालबाट देवेन्द्र र उनकी पत्नीलाई घरबाट निकालेको प्रहरीले जनाएको छ । घरभित्रै थुनेर कसले आगो लगायो अहिलेसम्म केही खुलेको छैन।
पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्ती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
उनको घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाएको छैन।