जाकर्ता, १८ मङ्सिर । इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले सोमबार बताएका छन् ।
अविरल वर्षाका कारण आएको पहिरो र बाढीले शुक्रबार राति उत्तरी सुमात्रा प्रान्तको एउटा गाउँको आवासीय इलाकालाई असर पुर्याएको थियो । बाढी र पहिरोले ७८ वर्षीया एक महिलाको मृत्यु भएको, दर्जनौँ घर बगाएको र एउटा होटल क्षतिग्रस्त भएको छ ।
मेदान खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले सुरुमा ११ जना बेपत्ता भएको घोषणा गरिएको तर सोमबार उद्धारकर्मीले एउटा शव फेला पारेको जानकारी दिए । बेपत्ता हुनेमा छ र आठ वर्षका बालबालिका पनि रहेका छन् ।
उनका अनुसार खोजी प्रयासलाई पानी र जमिनमा विभाजन गरिएको छ । थुप्रै डुङ्गा र गोताखोरले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् भने टोबा ताल नजिकै उत्खनन र खोजबिन जारी छ । बेपत्ताहरूको शव विश्वको सबैभन्दा ठूलो ज्वालामुखी तालमा तानिएको हुनसक्ने आशङ्कामा उद्धारकर्मीहरूले सोनार डिटेक्सनको प्रयोग गरिरहेको बुडियोनोले बताए ।
राष्ट्रिय खोज एवं उद्धार एजेन्सी बसरनासका अनुसार करिब एक सय ४० मानिसलाई गाउँबाट विस्थापन गरिएको छ । रासस