Logo

पृथ्वीराजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्र सुरु



तनहुँ, १८ मङ्सिर । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र अघि बढाएको हो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरिसकेको छ ।

अब गरिने चार किलोमिटर दूरी कालोपत्र काम १० देखि १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेको भनाइ छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दूरी एकतर्फी कालोपत्र केही समय अघि सम्पन्न भएको थियो ।

बन्दीपुर–१ नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र तिहारपछि लगत्तै सम्पन्न गरेको हो । तिहारअघि तीन किलोमिटर र तिहारपछि तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरेपछि आँबुखैरेनी क्षेत्रबाट काम सुरु गरेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

राजमार्गको पूर्वी खण्डको एकतर्फी सडकमा कालोपत्र गर्न थालेपनि एकतर्फी पूरै कालोपत्र गर्ने कार्य बाँकी छ । बरादीबाट डुम्रे, छिर्कनबाट दमौली र दमौलीबाट जामुनेसम्म एकतर्फी कालोपत्र गर्ने कार्य बाँकी रहेकाले एकतर्फी कालोपत्र गरिए पनि सवारीसाधनलाई धेरै सहज हुने विश्वास गरिएको छ ।

“बिजुलीको खम्बा हटाइएको, घर भत्काएर खुला भएका स्थानमा काम गर्दै जाने योजनाअनुरुप निर्माण र कालोपत्रका कार्य अघि बढाइएको छ”, इञ्जिनियर पाण्डेले भने, “उक्त खण्डमा हालसम्म ३६ प्रतिशतभन्दा बढी कार्य प्रगति भइसकेको छ ।”

“सडकका दायाँबायाँ कटिङ गर्ने र कल्भर्ट राख्नेलगायतका कार्य सम्पन्नपश्चात कालोपत्र कार्य अघि बढाइएको हो”, उनले भने, “कालोपत्र गर्नुपूर्व समाबेस र बेस प्रयोग गरी रोलिङ गरेर सुकेपछि बिटुमिनको झोल राखेर कालोपत्र गरिन्छ ।”

उक्त राजमार्गको पूर्वी सडकअन्र्तगत ४१ दशमलव ४५ किमी दूरीमा सडक विस्तारका कार्य भइरहेको छ । पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो ।

पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यसखण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको इञ्जिनियर पाण्डेले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्