काठमाडौं,१८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेको व्यवस्था बदल्ने आन्दोलनबारे मुख खोलेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मूलधारका मिडियाहरुका सम्पादकहरुसँगको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रसाईंको आन्दोलनले कुनैपनि प्रतिफल दिन नसक्ने र केहि दिनमा तुहिने दाबी गरेका छन् ।
‘उनीहरूबीच अन्तविरोध थियो, सरकार छिर्दै जाने खालको,’उनले भने,‘सबै तरिका अपनाइयो। प्रसाईको अभियान विस्तारै तुहिन्छ।’ लोकतन्त्र बाहिर गएर बोल्न र चल्न नपाइने भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले संविधानभित्रै रहेर प्रतिवाद गरेको बताए। ‘ठूलै हो–हल्ला गरियो। दमन गरे झन् फ्युलिङ हुने खतरा थियो,’ उनले भने, ‘तर बल प्रयोग नगरी गर्नुपर्ने सबै गरियो।’
मेडिकल व्यवसायी प्रसाईंले गत मंसिर ७ गतेबाट काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गरेर नेपालमा राजसंस्था पुनर्वाहली र हिन्दू अधिराज्यको घोषणा गराउने उनको मुख्य उदेश्य रहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर शहर केन्द्रीत आन्दोलन थालेका प्रसाईंको उक्त अभियानबारे सरकारले प्रतिक्रिया नदिएको र आवश्यक कदम नचालेको भन्दै आलोचना हुँदै आएको थियो ।