Logo

६० किलो सुन प्रकरण- बयानका लागि छानबिन समितिद्धारा राहुललाई बोलाइयो



काठमाडौं,१९ मंसिर । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार पास भई बाहिरिएर काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ६१६ ग्राम सुन बरामद प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो काम थालेको छ ।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित छानबिन समितिले मंगलबार राहुल महरालाई बयानका लागि बोलाएको हो । उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको थियो ।

कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा पक्राउ गरेको थियो ।

पछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले असोज २६ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । महरा भेपमा राखेर सुन तस्करी गरेको आरोपमा पक्राउ परेका हुन् । उनप् सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा हुन् ।

सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झण्डै २ महिनासम्म संसद अवरुद्ध गरेको थियो । एमालेको निरन्तर अवरोधपछि २०८० असोज १४ मा मन्त्रिपरिषद्ले डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot