Logo

तोसिमाको प्रस्टीकरण: रास्वपा साना लक्ष्यले जुट्या पार्टी हैन, फुट्ने कल्पना पनि नगर्नुस्



काठमाडौं,१९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने दाबी गरेकी छन् ।

महोत्तरीमा सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको निर्णयप्रति कार्की पार्टीमा असन्तुष्ट रहेको समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे स्पष्टीकरण दिएकी हुन् ।

केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन ?’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । धेरैले उनको यो स्ट्याटस पार्टीको निर्णयप्रति लक्षित रहेको अनुमान गरेका थिए । उक्त अनुमानलाई मंगलबार उनले खण्डन गरेकी हुन् । आफूले विधिको शासन भनेर सामाजिक सञ्जालमा लेख्दा फरक-फरक व्याख्या भएको भन्दै सबै ठाउँमा विधिको शासन स्थापित गरेर छोड्ने दाबीसमेत गरिन् ।

कार्कीले लेखेकी छन्, ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन हामी त्यसो हुनै दिँदैनम् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने । चौरासी त हुन्छ हुन्छ । हुनैपर्छ जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ । देश बनाउन हिँड्या हौँ, देश बनाउन । ठूलो छाती ठूलो मुटु लिएर हिँड्या छौ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न ।घण्टी त बज्छ बज्छ ०८४ मै बज्छ बरु आउनुस् तपाईँहरू पनि यो महाअभियानमा नछुट्नुस् । विधिको शासन ? ए ए, सबैले आ–आफ्नै व्याख्या प्रतिव्याख्या गर्नुभएछ । विधिको शासन देशमै छैन हजुर । सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हरकतमा छैन । न्यायालयमै छैन । निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot