काठमाडौं,१९ मंसिर । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले झापामा रहेको नेपाल इन्भेस्टमेण्ट मेगा बैंक (एनआईएमबी) का सहायक म्यानेजर दीनेश पनेरुलाई अभद्र व्यवहार गरेका छन् ।
मंगलबार बिहान पनेरुलाई ऋणको विषयमा छलफल गर्न भन्दै बोलाएर अभद्र व्यवहार गरिएको बुझिएको छ । चिया पसलबाट उनलाई झापास्थित प्रसाईंको अस्पताल बीएण्डसीमा लैजान खोज्दा नमानेपछि अभद्र व्यवहार गरेका थिए । सो घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
प्रसाईं नेतृत्वको उक्त समूहले बैंक तथा वित्तिय संस्थाले नागरिकलाई ऋणको चंगुलमा पारेको भन्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । केहि महिनाअघि प्रसाईंले बैंक तथा लगुवित्तका कर्मचारीलाई गाउँ प्रवेश गर्न रोक लगाउने र कालोमोसो दल्ने अभियानसमेत सञ्चालन गरेका थिए । तर, हाल उनको आन्दोलन बैंक तथा लघुवित्तबाट बदलिएर व्यवस्था परिवर्तनमा ढल्किएको छ ।