Logo

९ वर्षीय छात्रामाथि लात्ती र  लौरोले  निर्घात कुटपिट



नवलपरासी पश्चिम्, मंसिर २० । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकले ९ वर्षीय छात्रालाई निर्घात कुटपिट गरेको खुलेको छ ।

सरावलको वडा नं ७ बर्गदवामा रहेको बर्दघाट कालिका ईङ्गलिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन् । कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट बालिकाको शरीरमा राता राता नील डामहरू बसेका छन् । बालिकाको घरमा गएरसमेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेको यादवले विद्यालय आएपछि लौरो र लात्तीले प्रहार गरेको अभिभावकले बताएका छन् । घटना पछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताए।

पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताएकी छन्। छतमा लगेर कुटपिट गरेको र कुटपिट पछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले पीडितले उजुरी दिए कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot