Logo

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु



मनिला, २० मङ्सिर । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए । उनले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिए ।

मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएको जनाइएको छ । प्रान्तीय गभर्नर रोडोरा काडियोका अनुसार बसमा चार केन्यालीसहित अधिकांश एन्टिकका बासिन्दा थिए । यद्यपि पछि प्रहरीले बसमा दुई जनामात्र केन्याली रहेको पुष्टि गरेको छ । एउटा शवको सनाखत हुन सकेको छैन ।

“म त्यो स्थानलाई ‘हत्यारा मोड’ भन्छु, यो पहिला नै त्यहाँ खसेको दोस्रो सेरेस बस थियो”, बस कम्पनीको नाम उल्लेख गर्दै काडियोले भने, “यति धेरै सङ्ख्यामा मृत्यु भएकाले त्यो सडकलाई त्याग्नुपर्छ र सो क्षेत्रलाई सुरक्षित बनाउनका लागि अर्को सडक बनाउनुपर्छ ।” उनका अनुसार घना जङ्गलको खाडल करिब ३० मिटर गहिरो थियो ।

ट्रेनका अनुसार बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । “प्रत्यक्षदर्शीहरूका अनुसार यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हो, सम्भवतः ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाएको हुनसक्छ”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्