Logo

एनसेल प्रकरणमा प्रधानमन्त्री र अर्थमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्छ: योगेश भट्टराई



काठमाडौं,२० मंसिर । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा उब्जिएका प्रश्नको सन्दर्भमा प्रधानमन्त्री र अर्थमन्त्रीले समितिमा आएर बोल्नुपने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव तथा पूर्व मन्त्रीसमेत रहेका भट्टराईले एनसेलको विषयमा निक्कै गम्भीररुपमा छलफल गर्नुपर्ने भएको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समितिमा बोलाउने निर्णय गर्न माग गरेका हुन् ।

“प्रधानमन्त्रीको उपस्थितिमा छलफल राखियोस् । त्यसमा अर्थमन्त्री र सम्बन्धित निकाय पनि आउनुपर्छ । किनभने अहिले संसद् चलेको छैन । समितिमा आएर बोल्नुपर्छ,” भट्टराईले भने ।

उनले एनसेलको खरिदबिक्री प्रकरण गम्भीर रहेको बताए । “यो मुद्दा सामान्य होइन । यो एकदमै गम्भीर हो । नेपालमा विदेशी लगानीको लागि हामी खुल्ला छौँ । एउटा कम्पनी नेपालमा लगानी गरेर १५ वर्षमै खर्ब कमाउँछ भने नेपाल लगानीका लागि उपयुक्त छ भन्ने देखिन्छ,” भट्टराईले भने ।

मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्ने घोषणा गरेको छ । त्यस घोषणाले अहिले समग्र राजनीतिक वृतमा हलचल मच्चिरहेको छ । एनसेलको शेयर खरिदविक्रीमा अर्बौंको चलखेल भएको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot