ह्युस्टन, २१ मङ्सिर । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १०ः०० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशङ्का गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटना पछि सेनाबाट हटाइएको जनाकारीमा आएको छ ।
मङ्गलबार सान एन्टोनियोबाट करिब ८० माईल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताए अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए । रासस