Logo

निगमको व्यवस्थापन सम्हाल्न कतार एयरवेजको चासो



काठमाडौं, मङ्सिर २२। नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, “निगमले खोलेको टेन्डरमा एयरक््रयाफ्ट इन्डस्ट्रिज चेक रिपब्लिक, हिन्दुस्तान एरोनटिक्स लिमिटेड र डी ह्याभिल्यान्ड एयरक्रयाफ्टले प्रस्ताव पेस गरेका छन् । परेका प्रस्तावसँगै आर्थिक र प्राविधिक पक्षलाई समेत हेरेर प्रक्रिया अघि बढ्ने छ ।” उनले प्रस्ताव पेस गर्नेमा चिनियाँ कम्पनी चेक रिपब्लिक लेट जहाज, भारतीय हिन्दुस्तान एरोनटिक्सले डोर्नियर र क्यानेडियन कम्पनी डी ह्याभिल्यान्ड एयरक्रयाफ्टले ट्विनअटर जहाज निर्माता कम्पनी रहेको बताए।

निर्माता कम्पनीले जहाज बिक्री गर्न पेस गरेका प्रस्तावमाथि मूल्याङ्कन समितिले परेका तोकिएको ढाँचामार्फत छनोट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । निगमले दुर्गम भेगमा उडाउने गरी तीन वटा ट्विनअटर जहाज किन्न बोलपत्रसमेत गरेको थियो । निगमका प्रवक्ता पौडेलले जहाज खरिदको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने र हरेक जहाज छ महिनाको अन्तरमा ल्याइने जानकारी दिए।

मन्त्रालयले २०७९ चैत २४ मा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटल लिमिटेडमा रहेको एक करोड तीन लाख ३३ हजार ६९९ कित्ता सेयर बेचेर नयाँ जहाज खरिद गर्न सुझाव दिएको थियो । उक्त सेयर बेच्दा चार अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपियाँ पुग्ने समितिको प्रतिवेदनले देखाएको छ ।

अहिले निगमसँग आन्तरिकतर्फ दुई वटा साना जहाज सञ्चालनमा छन् । एउटा जहाज १० वर्षदेखि विमानस्थलमा बिग्रेको अवस्थामा छ । नयाँ जहाज खरिद गरेर सुर्खेत, नेपालगन्ज, विराटनगर र काठमाडौँ बेस भएर उडान गर्ने निगमको तयारी छ ।

त्यस्तै समितिले निगममा रणनीतिक साझेदार भित्र्याएर कम्पनी मोडलमा सञ्चालन गर्न र निगमलाई होल्डिङ कम्पनीमा परिणत गरी अधिक सेयर सरकार र सरकारका संस्थामा रहने गरी छुट्टाछुट्टै संस्था बनाउनसमेत सुझाव दिएको थियो । समितिले दिएको सुझावकै आधारमा निगमको व्यवस्थापन सम्हाल्न कतार एयरवेजले चासो देखाइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जनाएको छ । निगमको व्यवस्थापकीय जिम्मेवारी लिन कतार एयरवेजले पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत प्रस्ताव पठाएको छ ।

कतार एयरवेजले निगमको इन्जिनियरिङ, अपरेसन, फाइनान्स र मार्केटिङ विभाग सम्हाल्ने गरी प्रस्ताव गरेको र निगमको मुख्य आम्दानी मानिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा समेत चासो देखाइरहेको स्रोतले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतिस्पर्धाबाट विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ दिने तयारी गरेपछि निगमले ग्राउन्ड ह्यान्डलिङको निरन्तरता आफूले नै पाउनुपर्ने बताउँदै आएको छ ।

उपकरणमा गरिएको अर्बौं रुपियाँ लगानीको सुनिश्चितता, व्यावसायिक दक्षताका लागि पनि ग्राउन्ड ह्यान्डलिङको निरन्तरताको दाबी गर्दै निगमका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणका कर्मचारीसमेत प्रतिस्पर्धामार्फत जिम्मेवारी दिनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot