Logo

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई



काठमाडौं,२२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् ।

शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले आज बिहान धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन ।

भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोधेका थिए । साथै छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन् ।

यसअघि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर गएका बेलामा पनि विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।

गत अक्टोबर ७ मा प्यालेस्टानी विद्रोही समूह हमासले गरेको आक्रमणमा परेर नेपालका १० जनाले ज्यान गुमाएका थिए भने विपीन वेपत्ता भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot