Logo

एनसेल प्रकरण: छलफलका लागि प्रधानन्त्रीलाई बोलाउने राज्य व्यवस्था समितिको निर्णय



काठमाडौं,२२ मंसिर । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएको छ ।

शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले २५ मंसिरमा प्रधानमन्त्री प्रचण्डलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।
उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल हुनेछ । यस्तै मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको छ । उक्त बैठकमा प्रधानसेनापति प्रभुराम शर्मासँग फास्ट ट्रयाकबारे छलफल हुनेछ ।

यसअघि संसदको अर्थ र लेखा समितिले पनि एनसेल प्रकरणबारे चासो राख्दै आवश्यक निर्णय गरेको थियो । बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको थियो ।

यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको थियो ।

यस्तै अर्थ समितिले एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार नै बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।

यता सरकारले पनि एनसेल प्रकरणमा छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वको ५ सदस्यीय छानबिन समिति बनाएको छ । उक्त समितिलाई ३० दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्