Logo

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवार बन्न गोपालमानसहित कांग्रेसका ४ नेताले लिए समानुपातिक सूचीबाट नाम फिर्ता



काठमाडौं,२२ मंसिर । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको एक तिहाई सदस्यको पदपूर्तिका लागि ११ माघमा चुनाव हुन लागेको हो । कानूनमा नै राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका ५९ सांसदमध्ये १९ जना निर्वाचित र १ जना मनोनीत गरी कूल २० जना सांसदको ६ वर्षे कार्यकाल पूरा हुनेछ ।

सरकारले माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले पनि आफ्नो कामलाई तीव्रता दिएको छ । आयोगले आजमात्र निर्वाचन प्रयोजनका दल दर्ता गर्न राजनीतिक दललाई आह्वान गरिसकेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै नेताहरुले उम्मेदवार बन्नका लागि आफ्नो लबिङ तीव्र पारेका छन् । यसरी टिकटका लागि लबिङ थाल्नेमा सत्तारुढ दलका नेताहरु धेरै रहेको देखिन्छ । किनकी सत्तारुढ गठबन्धनले यसअघिनै राष्ट्रिय सभाको निर्वाचन मिलेर लड्ने सहमति गरिसकेका छन् । यो निर्णयसँगै राष्ट्रिय सभाका २० सीटमा नै सत्तारुढ दलका उम्मेदवार निर्वाचित हुने करिव पक्का जस्तै रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्नकै लागि सत्तारुढ दल नेपाली कांग्रेसका ४ नेताले लिए समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन ०७९ मा समानुपातिक सूचीमा नाम रहेका व्यक्तिहरु राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ ।

कांग्रेस निकट स्रोतका अनुसार कांग्रेसको समानुपातिक सूचीमा नाम रहेका गोपालमान श्रेष्ठ, बालकृष्ण पाण्डे, आनन्द ढुंगाना र अब्दुर सतारले आफ्नो नाम सूचीबाट फिर्ता लिएका हुन् । कांग्रेसबाट श्रेष्ठ, पाण्डे, ढुंगाना र सतारका अतिरिक्त पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, कलाकार नीर शाह, कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मालगायतले आफ्नो लबिङ थालेका छन् ।

पूर्व महामन्त्रीसमेत रहेका सिटौला यसपटक राष्ट्रिय सभामा गएर अध्यक्ष बन्न चाहान्छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा झापा-३ बाट उम्मेदवार रहेका उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग दोस्रोपकट पराजित भएका थिए । त्यसो त, उनी राष्ट्रपति बन्न चाहन्थे तर, कांग्रेसबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार बनेपछि उनको त्यो यात्रामा ब्रेक लागेको हो ।

कुनैसमय आफ्नै नेतृत्वमा कांग्रेसभित्र तेस्रो धार निर्माण गरेका सिटौला वर्तमानमा भने सभापति शेरबहादुर देउवाको कट्टर समर्थक बनेका छन् । उनकै सहयोगले देउवा १४औं महाधिवेशनमा सभापति निर्वाचित भएका थिए ।

महाधिवेशनमा गरेको सहयोगको गुण तिर्नकै लागि भएपनि देउवा सिटौलालाई यसपटक राष्ट्रिय सभामा लगेर अध्यक्ष बनाउने मनसायमा छन् । उनको पक्षमा पार्टीभित्र माहोल बन्दै गएको बताईएको छ ।

उता गण्डकीबाट राष्ट्रिय सभामा आउने मन बनाएका श्रेष्ठपनि पार्टीमा वरिष्ठ नेताको दावेदार हुन् । ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा शिक्षामन्त्री रहेका उनी गत निर्वाचनमा समानुपातिकतर्फ आदिवासी जनजाती सूचीमा एक नम्बरमा रहेका थिए ।तर, कांग्रेसले पाएको समानुपातिक ३३ सिटमा अधिकांश महिला सांसद निर्वाचित भएपछि उनी सांसद बन्न रोकिएका थिए ।

समानुपातिकबाट नाम फिर्ता लिएका ढुंगाना मधेश प्रदेशबाट सांसद बन्ने दाउमा रहँदा कलाकार नीर शाहलाई भने बागमती प्रदेशको खुल्लातर्फबाट राष्ट्रिय सभामा ल्याउन कांग्रेसभित्र कसरत भईरहेको छ । दरबार निकट मानिने शाह कांग्रेसका पुराना समर्थक हुन् । उनलाई सकेसम्म निर्वाचनमार्फत र नभए राष्ट्रपतिबाट मनोनीत गरेर भएपनि राष्ट्रिय सभामा लानुपर्नेमा सभापति देउवा पत्नी डा.आरजु राणा देउवाको जोड रहेको कांग्रेस स्रोतले बताएका छ ।



प्रतिक्रिया दिनुहोस्