Logo

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने : मन्त्री आचार्य



काठमाडौँ, २२ मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिक समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलमा मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मुलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

“नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था भए पनि सोहीअनुरुप कार्यान्वयन हुन सकेको छैन । अहिले पनि लैङ्गिक हिंसा रोकिएको छैन” उनले भने, “जतिसुकै कानुनी व्यवस्था भए तापनि सचेतनाका कार्यक्रम बृहत् नगरेसम्म अवस्था यस्तै रहन्छ । सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मूलन गर्न सबैको सहकार्यमा जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ”, उनले भने ।

मन्त्री आर्चायले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न समाजका हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाउनुपर्नेमा बताए । “संविधान, कानुनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समाजमा दाइजो प्रथा, यौन दुव्र्यवहार, अमानवीय व्यवहारलगायत महिलामाथि हुने हिंसा अझै व्याप्त छन् । समाजमा हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाएसम्म संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न सम्भव छैन”, उनले भने।

महिला हिंसाविरुद्धको गतिविधि उन्मुलन गर्न लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने र महिलालाई आर्थिक रुपान्तरणमा सबल बनाउन महिला सशक्तीकरण गर्न जरुरी भएको उनले बताए ।

सञ्चारिक समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रका निर्णायक तहमा महिला सहभागिताको आवश्यकता रहेको बताइन् । कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले महिलाविरुद्धका हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिमा जटिल प्रकारका मनोसामाजिक समस्याको विकसित हुन नदिन संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताइन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot