Logo

पार्टी वा ब्यक्तिबाट सञ्चालित भएको पुष्टि गर्नुस्, धर्मगुरुको बस्त्र खोल्न तयार छुः आचार्य श्री निवास



काठमाडौं, २३ मंसिर । धर्म गुरु आचार्य श्री निवासले आफू कुनै पार्टी र ब्यक्तिबाट सञ्चालित नरहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डण गरेका हुन् । उनले देशमा कसैको राजनीतिक यात्रामा सहज हुने हुँदा हाम्रो धर्म संस्कृतिमाथि खेलबाड गर्ने ब्यवस्था र परिवेश आएको टिप्पणी गरे । यसको विषयमा चिन्तित हुन जरुरी रहेको उनको भनाई छ ।

दिपावलीका दिनसमेत आफ्नो आँखाको सामू गौहत्या भएको बताउँदै उनले दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा त्यस घटनाले आफूलाई आक्रोशित बनाएको उनले बताए । आफू धर्म गुरु भएकाले धर्म मासिदै गरेको हेर्न नसक्ने उनले बताए । आफूलाई कुनै पार्टी वा ब्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गरे धर्म गरु बनेर नबस्नेसमेत उनले बताए ।

‘कुनै पार्टीको, कुनै ब्यक्तिको अथवा कोहीबाट सञ्चालित हो भन्ने तपाईँहरु पुष्टि गर्नुहुन्छ भने म आजैबाट धर्मगुरुको यो भेष खोलेर ब्यक्तिगत जीवन बाचेर हिँड्न तयार छु,’– उनले भने ।

कतिपयले राप्रपाको र कतिले दुर्गा प्रसाईँको मान्छे भएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए । धर्मको रक्षाका लागि केवल उनीहरुले गरेको निमण्त्रणालाई स्वीकार गरेको उनको भनाई छ ।

‘कहिले काहीँ राजेन्द्र लिङ्देनजीलाई धर्मको कुरा गरेको भरमा सघाउँदा मलाई कतिपयले राप्रपाको भन्दिन्छन् । कतिपयले दुर्गा प्रसाईँको अभियानमा गएर निमन्त्रणा स्वीकार गर्दा दुर्गा प्रसाईँको मान्छे भन्दिन्छन् । तर, म धर्म, राष्ट्र, राष्ट्रियता, सभ्यता, गौमाताको रक्षा र धर्म परिवर्तन विरुद्धको विषयलाई लिएर म अहोरात्र रक्षक भएर काम गर्दै आएको छु,’– उनले भने ।

साथै, नेपाल धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने र गौहत्या बन्द हुनुपर्ने उनले बताए । धर्म, संस्कृति र गौरक्षाका लागि आफू निरन्तर लागिरहने पनि उनले बताए । आफूलाई कतिपयले विवादित, विवादास्पद र आतंककारी धर्म गुरुसमेतको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot