काठमाडौं, २३ मंसिर । काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. २ स्थायी घर भएका ध्रुबप्रसाद घोरासैनीले आफूलाई हनी–ट्रयापमा पारेर एक महिलाले एक करोड ५० लाख भन्दा बढि पैसा र १५ तोला भन्दा बढि सुन ठगी गरेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले मकवानपुरको पालुङ घर भएकी रमा कार्कीले बिहे गर्ने र अमेरिका जाने भनेर उक्त पैसा ठगी गरेको बताएका हुन् ।
आफूले लामो समय जापान बसेर कमाएको उक्त पैसा विभिन्न मितिमा ती महिलाले प्रलोभनमा पारेर लिएको उनको आरोप छ । उनले ती महिलालाई उक्त पैसा दिएको प्रमाण सुरक्षित रहेको समेत बताए । आफूले अब उक्त पैसा फिर्ता नपाएको खण्डमा आत्महत्याको बाटो रोज्नुभन्दा अर्को विकल्पनै नरहेको बताउँदै उनले सहयोगका लागि सबै समक्ष अपील गरे ।