Logo

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन



काठमाडौं, २३ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।

उनले् म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युत्गृह निरीक्षण गर्दै आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त आयोजनाको निरीक्षण गरेका थिए । सो अवसरमा आयोजनाका अधिकारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले मन्त्री बस्नेतलाई आगामी २५ महिनाभित्र आयोजना निर्माण सम्पन्न हुने जानकारी गराएका थिए ।

राहुघाट जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइले समग्र देशलाई नै नोक्सानी भएको उल्लेख गर्दै मन्त्री बस्नेतले नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि वैकल्पिक स्रोत खोज्नुपर्नेमा जोड दिए ।
“वैकल्पिक स्रोत पहिचान गरी आयोजनालाई नदीजन्य निर्माण सामग्रीको अभाव हुन नदिन सहजीकरण हुन्छ”, उनले भने, “कार्ययोजनाअनुसार आयोजना सञ्चालन हुने गरी आयोजना, निर्माण कम्पनी र परामर्शदाताले काम गर्नुहोस् ।”



प्रतिक्रिया दिनुहोस्