काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानविरुद्ध सुरुवातमा फिल्डिङ गरिरहेको छ । नेपालले टस जितेर अफगानस्तानलाई ब्याटिङको निम्ता दिएको हो ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा ब्याटिङ गरिरहेको अफगानस्तानले पहिलो विकेट गुमाएको हो । उसले खेलको १ ।५ ओभरमा वाफि उल्लाहलाई गुमाएको हो । उनी ९ बलमा १५ रन बनाएर खेलिरहेका थिए ।
समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल आजको खेल जित्दै सेमिफाइनल सम्भावना कायम राख्ने लक्ष्यमा छ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उत्तम थापा मगरले अर्धशतक बनाएपछि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर थियो ।
सिनियर टोलीका स्टार अलराउण्डर गुल्सन झाले बलिङमा २ विकेट लिएपनि ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
यस्तै कप्तान देव खनालको ब्याट पनि पहिलो खेलमा चलेन । यी दुई खेलाडीमा नेपालले ठूलो आशा राखेको छ ।
उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।