Logo

एमालेको समृद्धिको लागि संकल्प यात्रा कोशी छिर्‍यो, अवरोध गर्ने पहिचानवादीको चेतावनी



काठमाडौं,२६ मंसिर । १३ दिनदेखि झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा चलाईरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आजबाट कोशी प्रदेश प्रवेश गर्ने भएको छ । सोमबार रामेछापको मन्थलीमा पुगेर बास बसेको एमालेको टोलीले मंगलबार बिहान सदरमुकाम मन्थलीमा रहेको जननेता मदन भण्डारी र जिवराज आश्रितको शालीकमा माल्र्यापण गरेको थियो ।

मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्दै छ । हिजो राति रामेछापको मन्थलीमा सन्देश सभा राखिएको थियो ।

आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदै छ । घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने छ । एमाले अध्यक्ष ओली नेतृत्वको टोली मंगलबार उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गर्नेछन् ।

एमालेको यात्रालाई अवरोध पुर्‍याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन् । उनीहरूले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टि राख्ने समूहलाई अवरोध गर्ने बताएका छन् ।

पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुने संकल्प यात्राको क्रममा मंगलबार उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिने एमाले कोशीले जनाएको छ । अध्यक्ष ओलीले पहिचानवादीको नाममा केही तत्वले कोशी प्रदेशमा वितण्डा मच्चाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ।

गत फागुन १७ गते तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि पहिचानवादीहरु आन्दोलित बनेका छन् । उनीहरुले पहिचानका आधारमा लिम्बूवा, किरात, खुम्बुवानलगायतका नाम राख्नुपर्ने माग गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot