Logo

एमालेको जम्बो टोली कोशी छिर्योः ८ जना पहिचानवादी पक्राउ, सुरक्षा ब्यवस्था कडा



काठमाडौं, २६ असोज । नेकपा (एमाले) गत मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ जारी रहेको छ । उक्त अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको जम्बो टोली आजदेखि कोशी प्रदेश प्रवेश गरेका छन् । रामेछापमा कार्यक्रम सकाएर आजदेखि एमालेको जम्बो टोली कोशी प्रदेश छिरेको हो ।

कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेका नेताहरुमाथि प्रतिबन्ध लगाएका छन् । पहिचानवादीहरुले एमालेलाई पहिचान विरोधी शक्तिका रुपमा ब्याख्या गर्दै आएका छन् । पहिचानवादीहरुले कोशीमा एमाले नेता योगेश भट्टराई, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे लगायतका नेतालाई निसाना बनाएर आक्रमसमेत गर्दै आएका छन् ।

अभियानका क्रममा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका नेताहरु सहभागी छन् ।

साही क्रममा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने आठ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ । मध्यपहाडी लोकमार्गमा रुख ढालेर एमालेको अभियानलाई अवरोध गरेको आरोपमा उनीहरुलाई प्रहरीले ओखलढुङ्गा र खोटाङ्गबाट नियन्त्रणमा लिएको हो ।

संकल्प यात्राका क्रममा ओली आज दिउँसो १ बजे उदयपुरको घुर्मीमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त आयोजनामा त्यहाँ कार्यक्रम आयोजना गरिएको हो । पहिचानवादीहरुले ठाउँ–ठाउँमा बन्द र अवरोध गरेपछि सुरक्षा ब्यवस्था कडा गरिएको छ । कार्यक्रमस्थल वरपर र एमाले नेताहरु आउने बाटोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गस्ती गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्