Logo

यूएईको भूमिमा नेपालको बिर्सनलायक प्रदर्शन, भारतले पायो ५३ रनको झिनो लक्ष्य



काठमाडौं,२६ मंसिर । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध बिर्सनलायक प्रदर्शन गरेको छ ।

टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले २२.१ ओभरमा अलआउट हुँदै ५२ रनमात्र जोडेपछि भारतले ५३ रनको सामान्य लक्ष्य पाएको हो । नेपालले १७ रन मात्रै जोड्दा ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका थिए ।

नेपालका लागि सबैभन्दा बढी आशा गरिएका अर्जुन कुमालले आज जम्मा ७ रनमात्र जोड्न सके। अघिल्लो म्याचमा अफगानिस्तानविरुद्ध उत्कृष्ट इनिङ खेलेका अर्जुन आज चलेनन् । उनी २२ बलमा ७ रन बनाउँदै आउट भए । अर्जुन आउट हुनासाथ कप्तान देव खनाल र दीपक डुम्रे लगातार बलमा आउट भए । देवलाई आउट गर्न भारतीय विकेटकिपरले उत्कृष्ट क्याच लिए । गुल्शन झा पनि क्रिजमा टिक्न सकेनन् । उनी ८ बलमा ४ रन बनाउँदै पेभेलियन फर्किएका छन् ।

अर्का दीपक बोहरा २ रनमा आउट हुँदा सुवास भण्डारी एक रनमा पेभेलियन फर्किएका छन् । बलिङतर्फ भारतका भारतका राज लिम्बानीले ७  र आराध्य शुक्लाले २ विकेट लिएका छन् । हेमन्त धामीले जोडेको ८ रननै नेपालको लागि सबैभन्दा ठूलो योगफल बनेको छ ।

यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २-२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot