Logo

पहिचानवादीलाई ओलीको जवाफ: हामी कसैको विरोधमा छैनौँ, हामीलाई कसैको चित्त दुखाउनु छैन



काठमाडौं,२६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलले गरिरहेको मध्यपहाडी लोकमार्गको यात्रा कोहि कसैको समर्थन र विरोधमा नभएको प्रष्ट पारेका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३औं दिन कोशी प्रदेश प्रवेश गरेको यात्रा टोलीलाई ओखलढुंगाको हर्कपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो कुरा बताएका हुन् । ‘हामी कसैको विरोधमा छैनौँ, हामीले कसैको चित्त दुखाउनु पनि छैन’, उनले भने, ‘हामीले यो कठिन यात्रा २ हजार किलोमिटर हिँडिसकेका छौँ। हाम्रो उद्धेश्य देश जाग्नुपर्यो, जनता जाग्नु पर्यो भन्ने हो। यो कसैका विरुद्ध होइन।’

बैतडीको भुलाघाट गोठालापानीबाट सुरु भएको यात्रा आज ओखलढुंगा पुगेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारल साम्रदायीकता भड्काउने काम गरेको आरोपसमेत लगाएका छन् । “अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको । त्यसकारण अहिले पनि साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ,” उनले भने, “एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने र त्यस आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने ।”

उनले मिसन ०८४ यस देशका लागि आवश्यक रहेको बताए। ‘मिसन ०८४ एमालेलाई होइन, देशलाई चाहिएको हो। सवल राष्ट्रिय शक्तिका लागि एकल बहुमत हुनुपर्छ। बहुमतबिना देशले समृद्धि हासिल गर्न सक्दैन’,उनले भने,‘अफ्ठ्यारोमा परेको देशलाई हामी सजिलोमा निकाल्छौँ। सबैजनाले एकतावद्ध भएर राष्ट्र निर्माणमा लागौँ।’

ओलीले पहिचानवादीहरूलाई भावनामा नबग्न पनि अपिल गरे। ‘अनावश्यक भावनामा कोही बग्नु हुँदैन। जनताबीचमा फाटो ल्याउनु हुँदैन’, उनले भने,‘राजनीतिक विचारमा मतभेद हुन सक्छ। तर ती मतभेदको समाधान वैधानिक प्रक्रियाबाट गरौँ, शान्तिपूर्ण रुपमा गरौँ, आवेश र उत्तेजनाबाट होइन।

कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधर निरन्तर आन्दोलनमा रहेका छन् । प्रदेश सभाबाट कोशी नामाकरण गराउन भूमिका खेल्ने तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की र उनले नेतृत्व गरेको दल नेकपा एमालेलाई लक्षित गरेर आक्रामण गर्दै आएका पहिचानवादीले पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुमाथि पनि आफ्नो गतिविधि बढाउँदै लगेका छन् । आजमात्रै झापाको दमकमा मुख्यमन्त्री केदार कार्कीलाई आन्दोलनकारीले रोक्ने प्रयास गरेका थिए । साथै मुख्यमन्त्री कार्की सवार गाडीमा पहिचानवादीले ढुंगासमेत प्रहार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्