काठमाडौं, मंसिर २७ । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।
यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् । २९औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो ।