काठमाडौं,२७ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुको भेला आज हुँदैछ । बैठक केहिबेरमा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुनेछ ।
पार्टी नेता डा शेखर कोइरालाले नेतृत्व गरिरहेको उक्त समूहको बैठकमा सहभागी हुन हालसम्म कोइरालासहित सांसदत्रय सुनिल शर्मा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी बैठकमा पुगिसकेका छन् । त्यस्तै नेताहरु जगदिशनरसिंह केसी, मिनेन्द्र रिजाल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यलगायतका नेताहरु अनुपम फुडल्याण्डमा पुगेका छन् ।
बैठकमा सहभागी हुन महामन्त्री गगन थापा पनि जानेछन् । डा.शेखरले आफूसँग सल्लाह नगरी बैठक डाकेपछि चिडिएका थापा र नेता कोइरालाबीच सोमबार नेता अर्जुननरसिंह केसीको निवासमा गोप्य वार्ता भएको थियो ।
महामन्त्री थापाका ससुरासमेत रहेका नेता केसीको पहलमा भएको वार्तापनि बैठक आजलाई सार्ने र मिलेर अघि बढ्ने सहमति भएको बताइन्छ । गत असोजको अन्तिम साता कोशीमा नेता शेखर कोइरालाले एकलौटीरुपमा विद्रोह गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि गगन उनीसँग आक्रामक बनेका थिए ।
पुस दोस्रो साताका लागि तय कांग्रेस महासमिति बैठक र समसामयिक राजनीतिबारे छलफल गर्न शेखर पक्षीय नेताहरु बत्तीसपुतलीमा भेला भएका हुन्।