Logo

कृष्ण सिटौलालाई राष्ट्रिय सभामा जानबाट रोक्ने प्रयासमा गुरुराज घिमिरे !



काठमाडौं,२७ मंसिर । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले चुनाव हारेका व्यक्तिलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका छ्न ।

बुधबार काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापन इत्तर समूहको भेलामा बोल्दै नेता घिमिरेले एकै कार्यकालमा प्रतिनिधि सभामा चुनाव हारेको व्यक्ति सोही कार्यकालमा राष्ट्रिय सभामा निर्वाचित हुन नसक्ने दाबी गर्दै पार्टीबाट राष्ट्रिय सभामा उम्मेदवार छान्दा सो कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभामा रिक्त हुने एक तिहाई सदस्यका लागि आगामी माघ ११ गते निर्वाच हुँदैछ । सो निर्वाचनमा रिक्त रहने २० सदस्यमध्ये कांग्रेसले ९ सीट पाउने मोटामोटी सहमति गठबन्धनभित्र भएसँगै टिकटका लागि लबिङ गर्नेको संख्या बढ्दो छ ।

कांग्रेसमा राष्ट्रिय सभामा जान पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलादेखि पूर्व उपसभापति गोपालमान श्रेष्ठसमेतले आकांक्षा राखेका छन् । सिटौला र श्रेष्ठ दुबै राजनीतिको उत्र्ताधमा पुगेका कारण यसपटक राष्ट्रिय सभामा गएर अध्यक्ष बन्ने दाउमा रहेका छन् ।

सिटौला गत वर्षको आम निर्वाचनमा झापा ३ बाट दोस्रोपटक राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका नेता हुन भने गोपालमान पार्टीको जनजातीतर्फको समानुपातिक सूचीमा एक नम्बरमा रहेपनि सांसद बन्नबाट बञ्चित भएका थिए ।

राष्ट्रिय सभामा जाने इच्छा गरेका सिटौलालाई रोक्ने प्रयासस्वरुप घिमिरेले सो कुरा बताएको अनुमान गरिएको छ ।

पार्टीभित्र घिमिरे र सिटौला एकअर्काका कट्टु आलोचक हुन् । गत वर्ष कोशी प्रदेशको सभापतिमा उम्मेदवार बनेका घिमिरे उनै सिटौला निकटका उद्धव थापासँग २ मतले हारेका थिए । पार्टीभित्र सिटौला सभापति देउवा निकट र घिमिरे नेता डा.शेखर कोइराला निकट मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot