Logo

दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका छ: उपराष्ट्रपति यादव



काठमाडौं,२७ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

भक्तपुर दरबार क्षेत्रमा रहेको पद्य माध्यमिक विद्यालय एक सय वर्षमा पुगेको अवसरमा विद्यालयमा आज आयोजना गरिएको शत्वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्ने बताएका हुन् ।

उपराष्ट्रपति यादवले विद्यालयलाई उत्कृष्ट बनाउन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकको एकापसमा सहकार्य आवश्यक रहने बताउँदै यो विद्यालयले देशकै नाम उच्च राख्ने गरी गुणस्तरीय शिक्षा प्रदान गरेको बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले २०७२ को भूकम्पले क्षति गरेको विद्यालयको भवन अझै पनि पुनःनिर्माण हुन नसकेको भन्दै नगरपालिकाले नक्सा पास नगर्नु दुर्भाग्य भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तिलकप्रकाश कायस्थ, विद्यालयका पूर्वप्रधानाध्यापक विक्रमबहादुर कायस्थले भक्तपुरको शिक्षाको विकासमा यो विद्यालयले ठूलो योगदान दिएको चर्चा गरे ।

विद्यालयका प्राचार्य राम हाडाले विद्यालय र कलेजको प्रगति प्रतिवेदन सार्वजनिक गर्दैै देशभरका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई अतिरिक्त एवं सामाजिक क्रियाकलापमा सहभागी गराउँदै आएको बताए।

कार्यक्रममा पूर्वप्रधानाध्यापक नृपतिलाल प्रधानाङ्ग, विक्रमबहादुर कायस्थ र रामगोपाल कर्माचार्यलाई सम्मान गरिएको थियो भने उत्कृष्ट छात्रछात्रालाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot