काठमाडौं,२८ मंसिर । यूएईमा जारी यस संस्करणको एसीसी यू-१९ एसिया कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट बंगलादेश र यूएई अर्को चरणमा पुग्दा नेपालसहित श्रीलंका, अफगानस्तान र जापान समूह चरणबाटै घर फर्किएका छन् ।
नेपाली यू-१९ क्रिकेट टिमले विगतमा गर्विलो प्रदर्शन गरेको इतिहास रहेको छ । नेपालले विगतमा टेष्ट मान्यता प्राप्त राष्ट भारतलाई हराउँदै सनसनीपूर्ण इतिहास रचेको थियो । नेपाली यू-१९ त्यस्तो एकमात्र टिम हो । जसले भारतलाई हराएर इतिहास रचेको छ ।
सन् २०१७ मा आयोजित एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएर इतिहास रचेको थियो । भारतविरुद्ध क्रिकेटमा यो नै नेपालको पहिलो जित हो । त्यसैले यूएईमा जारी यू-१९ एसिया कपमा नेपाली युवा टोलीबाट क्रिकेटप्रेमी आम नेपालीले जितभन्दा पनि सन्तोषजनक प्रदर्शको आशा गर्नु अन्यथा होइन् तर, मंगलबार भएको भारतविरुद्धको खेलमा नेपाली टिमको लज्जास्पद प्रदर्शन र रवाफिलो हारले भने क्रिकेट प्रेमी आम नेपाली दर्शकको मन कटक्क खाएको छ ।
‘ग्रुप अप डेथ’ मा परेको नेपाल प्रतियोगितको उत्कृष्ट तथा उपाधि दावेदार तीन राष्ट्रहरु भारत, पाकिस्तान र अफगानिस्तान रहेको समूह ए मा परेको थियो । समूह ए मा परेको नेपालले सेमिफाइनलमा पुग्न भारत र पाकिस्तान जस्ता क्रिकेटका महारथीहरुलाई पन्छाउनुपर्ने निश्चित रहेको थियो ।
यू-१९ एसिया कपको ड्र सार्वजनिक भएकै दिन नेपाल सेमिफाइनलमा नपुग्ने आंकलन धेरैले गरेका थिए । यद्यपि कतिपयले भने, चामत्कारिक प्रदर्शन गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाउने दाबी र अपेक्षा गरेका थिए । तर, ठीक उल्टो नेपाली युवा टिम जितविहीन बन्दै समूहचरणबाटै घर फर्किएको छ ।
शुक्रबार र आइतबार भएको पाकिस्तान र अफगानस्तानसँगको खेलमा केहि आशा लाग्दो प्रदर्शन गरेको नेपाली टिम मंगलबार भने अपेक्षाविपरीत भारतसँग लज्जास्पद हार बेर्होनबाध्य भयो । दुबईस्थित ओभल २ मैदानमा टस हारेपछि सुरुमा ब्याटिङ गर्ने जिम्मा नेपालले पायो ।
विकेट जोगाउनु नेपालको लागि चुनौतीपूर्ण थियो । ब्याटिङ कन्डिसन सहज थिएन् । जसमा नेपाली ब्याटरले निक्कै सावधानी र सुझवुझपूर्ण रुपमा खेल्नुपर्ने निश्चित थियो । यसअघिको दुबै खेलमा पूरा ५० ओभर मैदानमा टिक्न नसकेका नेपाली ब्याटरहरु भारतविरुद्ध ठूलो स्कोर भन्दापनि पूरा ५० ओभर मैदानमा टिकून भन्ने दर्शकको अपेक्षा थियो ।
सुरुवाती ३ विकेट गुमाएपछि नेपाली ब्याटरमा धैर्यता गुम्यो र लगातार विकेट गुमायो । कतिसम्म भने नेपालको स्कोरबोर्डमा १७ रन जम्मा हुँदा महत्वपूर्ण ५ विकेट गुमिसकेको थियो । निरन्तररुपमा विकेट गुमिरहँदा र रन बनाउन कठिन भईरहँदा नेपाली ब्याटरहरु भने लगातार जसो ठूला सट प्रहार गर्ने र आउट हुने होडबाजीमा लागे । जसले गर्दा १०औं नम्बारमा ब्याटिङ गर्न आएका बलर हेमन्त धामीले बनाएको ८ रनको स्कोर नेपालका लागि सर्वाधिक बन्न पुग्यो । नेपाल २१ ओभरमा अलआउट हुँदै ५२ रनको लज्जास्पद स्कोर बनायो ।
नेपालका लागि राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान देव खनालले २ रन बनाउँदा नेपाली सिनियर राष्ट्रिय टिमका अलराण्डर गुल्सन झाले ४ रन थपे । गुल्सन तीनै खेलाडी हुन जसले अघिल्लो महिना टीयू क्रिकेट मैदानमा यूएईविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै नेपाललाई एक दशकपछि टी २० विश्वकपमा पुर्याएका थिए ।
यसपटक नेपाली टिमबाट सबैभन्दा आशा गरिएका २ ब्याटरहरु देव खनाल र गुल्सन झाको प्रदर्शन सबैभन्दा फ्लप भयो । भारतविरुद्धको खेलमा नेपाली ब्याटरले मात्र ४३ रन बनाउँदा ९ रन अतिरिक्तमा पाएका थिए । नेपालका कुनैपनि खेलाडीले भारतीय बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर क्याच आउट हुन पुगेका थिए । विकेटकिपर उत्तमथापा मगर राजकै बलमा शून्यमा बोल्ड भए ।
अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा क्याच आउट भएका थिए ।
कप्तान देव खनाल नवौं ओभरमा २ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किए । । दीपक बोहरा १, उत्तम थापामगर डक, दीपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र आकाश चन्दले ४ रन बनाएका थिए ।
भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९।१ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ७ विकेट लिए । शुक्लाको नाममा २ विकेट रह्यो ।
५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । आदर्श सिंह १३ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे । नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।
यो प्रतियोगितालाई आउँदो जनवरीमा हुने आइसीसी विश्वकप क्रिकेटको तयारीको रूपमा हेरिएको थियो । कम्तिमा एउटा जीत निकालेको भए त्यो अभूतपूर्व उपलब्धी हुन सक्थ्यो । तर, प्रतियोगिताभर नै नेपालको ब्याटिङ सम्झन लायक रहेन । ३ वटै खेलमा पूरा ५० ओभर खेल्न नसक्नुले नेपालको कमजोरी झल्किन्छ ।
पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपाल ४७.२ अोभरमा १५२ रन जोड्दा अल आउट भएकोमा अफगानिस्तानविरुद्ध ४०.१ ओभरमा र भारतविरुद्ध अन्तिम खेलमा २२।१ ओभरमा नै अलआउट भयो । नेपालले तीन वटै खेलमा ५० ओभर पूरा खेल्न सकेन भने कुनैपनि खेलमा २०० रन पूरा गर्न सकेन् । नेपालले तीनवटै खेलमा गरी कूल ३९२ रनमात्र बनाउन सक्यो । नेपालका लागि अर्जुन कुमालले अफगानिस्तान विरुद्ध बनाएको ९१ रनको अर्धशतक नै सबैभन्दा ठूलो स्कोर बन्न पूग्यो ।
नेपालका अधिकांश युवा ब्याटर पाकिस्तान, र भारतका पेस बलरको सिकार भए । टेस्ट राष्ट्रका पेस बलरसामु नेपाली ब्याटिङ धराशायी बन्यो । नेपालविरुद्ध पाकिस्तानका पेस बलर मोहम्मद जिशानले ६ विकेट लिएका थिए । भारतका पेस बलर राज लिम्बानीले एक्लै सात विकेट लिँदा नेपाली ब्याटर निरीह बन्न पुगे ।
हरेक जितले आत्मविश्वास बढाउँछन् भने हारले पाठ सिकाउँछन् । दुबईमा युवा टिमको प्रदर्शनले खेलाडीहरुको कमजोरी उजागर भएको छ । अब हुने विश्वकपका लागि नेपालले यूएईमा सिकेका अनुभवलाई संगालेर धेरै मेहनत गर्नुपर्ने देखिन्छ । खेलाडीले तयारीमा ध्यान दिनुपर्ने छ भने राष्ट्रले पनि यसप्रति ध्यान दिनु जरुरी देखिन्छ ।