Logo

वर्तमान सरकारसँग कांग्रेसकै नेताहरु पनि आजित भइसक्नुभयो, ०८४ को निर्वाचन पर्खिन सकिँदैनः केपी ओली



काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग सत्तारुढ नेपाली कांग्रेसकै नेताहरु पनि आजित भइरकेको टिप्पणी गरेका छन् । पार्टीको अभियानअन्तर्गत आज (बिहिबार) भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कांग्रेसका धेरै नेताहरु वर्तमान सरकारको काम कारबाहीबाट असन्तुष्ट रहेका बताएका हुन् ।

‘नेपाली कांग्रेसकै नेताहरु पनि भन्न थाल्नु भएको छ– मिसन ०८४ पर्खिन सकिँदैन अथवा ०८४ सालको चुनाव पर्खिन सकिँदैन भनेर कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसक्नु भएको छ,’– ओलीले भने ।

राजनीति र अर्थतन्त्र बिग्रिएको र जनताले दुःख पाएको देखेर सबैमा चिन्ता छाउने स्थिति बनेको उनले बताए । अहिलेको सरकार आफ्नै अयोग्यताले ०८४ सम्म टिक्नसक्ने अवस्थामा नरहेको उनको दाबी छ । वर्तमान सरकारलाई कुहिएको फलसँग तुलना गर्दै उनले आफैं झर्ने अवस्थामा रहेको टिप्पणी गरे ।

अहिलेको सरकार अगतिलो रहेको उनको टिप्पणी छ । अहिलको स्थितिलाई सच्याउने कोशिस भइरहेको पनि उनले बताए । देशको हितमा काम गर्ने देशभक्त, शान्तिप्रिय, विकासप्रेमी र सुशासनवाला सरकारको आवश्यकता रहेको र त्यस दिशामा अगाडि बढ्नु आजको आवस्यकता रहेको उनले बताए । एमालेले साढे तीनवर्ष देशको नेतृत्व गर्दा असाधरण प्रगति गरेको उनको दाबी छ ।

एमाले नेताहरुले अहिले कांग्रेस चीर निन्द्रामा रहेको बताउँदै आएका छन् । कांग्रेस ब्युँझिएर आफूलाई संसद्को ठूलो पार्टी हुँ भन्ने आभास गरेको दिन वर्तमान सरकार ढल्ने उनीहरुको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्