Logo

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म अध्यक्ष ओलीप्रतिको आकर्षण अभूतपूर्व : महासचिव पोखरेल



भोजपुर, २८ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा नागरिकमा आशा जगाउन सफल भएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको १५औं दिन आज (बिहीबार) भोजपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा शुरू गरिएको यात्रा अभियानको क्रममा नागरिकमा सोचे भन्दा बढी उत्साह देखिएको बताएका हुन् । भविष्यप्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको उनको भनाइ छ । समाजलाई बस्तुगत आधारमा आशावादी बनाउनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

महासचिव पोखरेलले भने– नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म अध्यक्ष केपी शर्मा ओलीप्रतिको आकर्षण अभूतपूर्व पाइएको उनले बताए । फरक विचार राख्ने अभिभावकका बालबालिकासमेत अध्यक्ष ओलीलाई हेर्न र भेट्न यात्रामा सामेल भएको महासचिव पोखरेलले सुनाए ।

यात्रा ठीक समयमा गरिएको ठीक निर्णय प्रमाणित

कथित बौद्धिक जमातले नेतृत्वको आलोचना गर्ने गरेको भए पनि जनताको हेर्ने दृष्टिकोण भने फरक रहेको कुरा यात्राको क्रममा प्रमाणित भएको उनले स्पष्ट पारे । नागरिकको उत्साहजनक सहभागिताको कारण निर्धारण गरेभन्दा धेरै ठाउँमा कार्यक्रम गर्नुपरेको र नागरिक सडकमा आएपछि उनीहरूलाई उपेक्षा गरेर अघि बढ्न नसकिने भएका कारण यात्राको समय लम्बिएको महासचिव पोखरेलको भनाइ छ । यो यात्रा ठीक समयमा गरिएको ठीक निर्णय प्रमाणित भएको उहाँको विश्लेषण छ ।

महासचिव पोखरेलले भन्नुभयो– नेपाली जनताले सङ्घर्ष गरेर पराजित गरेको राजतन्त्रलाई समेत ब्युँझाउने, देशमा अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने खालका गतिविधि शुरू भएको बेला एमालेले सञ्चालन गरेको अभियानले सबै शक्तिलाई परास्त गरेको छ । लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान बनाउने माध्यम हो भन्ने यसले पुनः पुष्टि गरेको छ, त्यस अर्थमा यसले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको छ ।

मध्यपहाडी क्षेत्र विकास र समृद्धिको आधारशिला
पूर्वाधार विकास र पहाडको बसाइसराइ कसरी रोक्न सकिन्छ भन्ने अध्ययन गर्नु यात्राको मुख्य उद्देश्य रहेको उनले बताए । महासचिव पोखरेलले भन्नुभयो– मध्यपहाडी क्षेत्र भविष्यको विकास र समृद्धिको आधारशिला हो भन्ने कुरालाई उजागर गर्न हामीले सफलता प्राप्त गरेका छौँ, भविष्यको विकासको आधारशिला हामीले मध्यपहाडी राजमार्गलाई बनाउन सक्छौँ । यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि गरेको उहाँले बताउनुभयो । मध्यपहाड मौलिक संस्कृतिको खजाना रहेछ भन्ने कुरा पनि प्रमाणित भएको महासचिव पोखरेलको भनाइ छ ।

उनले संस्कृतिका हिसाबले पनि मध्यपहाड विशिष्ट क्षेत्र रहेछ भन्ने कुरा अनुभूत गर्न सकिने बताए । महासचिव पोखरेलले भन्नुभयो– नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजभित्र हामीले एकता निर्माण गर्ने आधार खोजीरहेका थियौँ, त्यो आधार प्राप्त भएको छ । पहाडी क्षेत्रको जीवनमा परिवर्तन आउँदै छ भन्ने कुरा पनि यात्राको क्रममा देखिएको उनले बताए ।

पहाडमा पनि व्यावसायिक उत्पादन शुरू भएको बताउँदै उनले परम्परागत उत्पादनलाई व्यावसायिकीकरण गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले सुन्तलाको व्यावसायिक खेतीको सम्भावना प्रचुर रहेको बताए । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा सिङ्गो नेतृत्व पङ्ती मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राको क्रममा मङ्सिर २७ गते भोजपुर आइपुगेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot