काठमाडौं,२८ मंसिर । गत २१ गते राती दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्रबहादुर घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् ।
उक्त प्रकरणमा छानबिनका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ । त्यसअघि अन्य दुईजना कार्यालय सहयोग पनि पक्राउ परेका थिए ।
चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।