Logo

शालिक राख्ने विषयमा विवाद भएपछि भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी



काठमाडौं,२८ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी भएको छ । राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर (महेन्द्र) स्मारक चोकमा राजा महेन्द्रको सालिक अनावरण गर्न खोजेपछि सम्भावित परिणामलाई ध्यानमा राखेर एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। विवादपछि स्मारक चोकमा तोकिएको आमसभाको कार्यक्रमस्थल फेरिएको छ। राप्रपाले पूर्वनिर्धारित कार्यक्रमस्थल फेरेर चोक नजिकै सब्जीमण्डी रोडमा कार्यक्रम गर्न लागेको छ। महेन्द्रको सालिक अनावरणमा गणतन्त्रवादी दलहरुले विरोध जनाएपछि सुरक्षा संवेदशीलतालाई ध्यान दिई प्रशासनले स्मारक चोकमा कार्यक्रम गर्न नदिएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०र८र२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्