Logo

अमरेशले मन्त्री पद र खान पिउनकै लागि बार्गेनिङ गरेको माओवादी नेताको आरोप, सम्पत्ति छानबिन गर्ने चेतावनी



काठमाडौं, २९ मंसिर । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहलाई प्रधानमन्त्री र उनको सचिवालयमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रमाण भए सार्वजनिक गर्नका निमित्त चुनौति दिएका हुन् । उनले प्रमाण सार्वजनि भए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गंगा दाहाल जेल जान तयार रहेको बताए । जनतामाझ भ्रम छरेर बदमासी नगर्न उनले अमरेशलाई चेतावनीसमेत दिए । अमरेशले अब प्रमाण सार्वजनिक गर्न नसकेको खण्डमा दण्डित हुनुपर्ने उनले बताए ।

‘उहाँलाई म के चुनौति दिन्छु भने प्रमाण छ भने प्रमाणित गरेर देखाइदे भयो नि । प्रचण्ड, गंगा दाहालहरु जेल जान्छन् नि त । जनताले समातेर जेल हाल्छन् नि । तर, उहाँ (अमरेश) को सम्पत्तिको स्रोत के हो भनेर उहाँले देखाउने कि नदेखाउने ?’ प्रश्न गर्दै उनले भने, ‘हामी लागौं त ? अमरेश कुमार सिंहलाई प्रमाणित गर्न चुनौति दिन चाहन्छु । प्रमाणित भएन भने दण्डित हुनुपर्छ । यो सरकारले कहाँनेर भ्रष्टाचार गर्यो ? देखाउन पर्यो नि ?’

अमरेशको सम्पत्तिको स्रोतका बारेमा पनि उनले प्रश्न उठाएका छन् । आजभन्दा १५ वर्षअघि स्प्लेन्डर बाइक चढेर काठमाडौं छिरेर अमरेशले दलाली गरेर अकुत सम्पत्ति आर्जन गरेको उनको आरोप छ । अमरेशले चार–चार पटक सांसद भएँ भन्दैगर्दा आफ्नो कार्यकालमा दलालीमात्रै गरेको र आफ्नै परिवारलाई पनि प्रताडित तुल्याएको उनको आरोप छ । साथै, आजभन्दा चार÷पाँच महिनाअघि प्रचण्डकै शरणमा रहेका अमरेशले मन्त्री पद नपाएपछि प्रचण्ड र उनको परिवारलाई बदनाम गर्ने गरी फण्डा निकालेको उनको दाबी छ । उनले अहिले अमरेशले मन्त्री पद र खानपिनका लागि बार्गेनिङ गरिरहेको बताए ।

‘आजभन्दा १५ वर्षअघि स्प्लेन्डर बाइक चढेर काठमाडौं छिरेका माननिय, मलाई नाम लिन पनि लज्जाबोध हुन्छ । उहाँको सम्पत्ति छानबिन गरौंन त । हिम्मत छ ? त्यसको स्रोत के हो ? उहाँले उहाँको पारिवारलाई कति प्रताडित गराउनु भयो ? दुनियाँ बेखबर छ ? दुनियाँले जान्दैन यो विषय ? चार पटक सांसद भएँ भनेर भन्नुभयो । चार पटक सांसद हुँदा देश किन नबनाएको ? यो बेथिति किन नरोकेको ? आजभन्दा अली अगाडि चैतसम्म प्रचण्डको दैलोमा गएर ‘तुम् शरणम् गच्छामी’ गर्ने उहाँनै होईन ?’ प्रश्न गर्दै उनले भने, ‘चैतमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन भोट हालेको उहाँले होईन ? उहाँले त्यतिबेला किन भोट हाल्नुभयो ? अहिले किन यसो भनिरहुनु भएको छ ? उहाँ बार्गेनिङ गरिराख्नु भएको छ । मन्त्री पदका लागि बार्गेनिङ गरिराख्नु भएको छ । खानपिउनका निमित्त बार्गेनिङ गरिराख्नु भएको छ । यो बार्गेनिङ चल्दैन । यो उहाँले बन्द गर्नुपर्छ ।’

अमरेशले गंगा दाहालमाथि आरोप लगाएर उनको नीजि जीवनमाथि खेलवाड गर्न खोजेको र चरित्र हत्या गरेको उनको आरोप छ । पछिल्लो समय नेपाली राजनीतिमा अमरेशजस्तै विभिन्न फण्डा गर्ने मानिसहरु चर्चामा आउने गरेको बताउँदै उनले यो प्रवृत्ति नेपाली राजनीतिका लागि हानिकारक रहेको बताए ।

सरकारले एनसेल शेयर खरिद विक्री प्रक्रियालाई कैफियत देखिएको भनेर रोकिदिएको उनले बताए । सरकारले उक्त प्रक्रिया रोक्दा अमरेशको भाग पनि रोकिएको हुनसक्ने उनले आशंका ब्यक्त गरे । वर्तमान सरकार सुशासन र समृद्धिको पक्षमा दृढ रहेको उनले बताए ।

वर्तमान सरकारले नौ महिनाको अवधिमा ८२ किलो सुन समातेको बताउँदै उनले यसअघिका सरकारले गर्न नसकेको बताए । अहिले दलालहरुको नसा चुँडिएको उनको दाबी छ । वर्तमान ब्यवस्था ल्याउन अहिले प्रधानमन्त्री प्रचण्डलाई गाली गर्नेहरुको दुई दिन पनि योगदान नरहेको उनले बताए । उनीहरुलाई बोल्ने ब्यवस्था आफूहरुले लडेर ल्याइदिएको उनले बताए । यो देशको परिवर्तनका लागि लड्ने प्रचण्डलाई एक पटक प्रत्येक दिन सम्झिएर ढोग गर्नपर्ने उनले बताए । उनीहरु अहिले उदाउनुमा प्रचण्डको ठूलो योगदान रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot