काठमाडौं, २९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नेपाल वायु सेवा निगमले पाउँदै आएको ग्राउन्ड ह्यान्डेलिङ सेवालाई खोस्न नहुने बताएका छन् । उनले निगमको ग्राउन्ड ह्यान्डेलिङ सेवा खोस्नका लागि माफियाहरुले चलखेल गरिरहेको समेत बताएका छन् ।
एनएसी राज्यको सम्पत्ति भएको विभिन्न आपत विपतमा यसको प्रभावकारी उपस्थिति रहेको दाबी गर्दै उनले निगमलाई सिध्याउन खोज्नेहरु कालान्तरमा आफैं सकिने समेत बताएका छन् । निगमले जरायलको घटना, अफगानिस्तानको आक्रमण, जाजरकोटको भूकम्प लगायतका विपत्तिमा सशक्त उपस्थिति देखाएको उनको भनाई छ ।
साथै, उनले निगमले उडान भरेर र ग्राउण्ड ह्यान्डेलिङ गरेर विदेशी मुद्रा आर्जन र प्रत्यक्ष रेमिटेन्स भित्र्याइरहेको बताएका छन् ।
निगमले यात्रु र पर्यटक बोकी बर्सेनी करिब २० अर्ब बराबरको विदेशी मुद्राको संचिती बढाइ देश अर्थिक रुपमा समृद्ध गर्न सघाएको उनले बताएका छन् । निमगले आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एवम् आयकरसमेत सरकारलाई बुझाइरहेको उनले स्मरण गराएका छन् ।
पटक–पटक निगमको ग्राउन्ड ह्यान्डेलिङ खोस्न माफियाहरु लागि पर्दा सरकार चलखेलमा परेको उनको आरोप छ ।
प्रतिनिधि सभा सदस्य यादवले सामाजिक सञ्जालमा लेखेका छन्ः
नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार उडानको साथै एयरपोर्टको ग्राउण्ड ह्यान्ड्लिङ्ग गर्दै आएको छ । नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्ड्लिङ्ग अन्तर्राष्ट्रिय IATA ISAGO Cretified छ र यो हरेक २ वर्षमा Service/ Safety Quality Audit पश्चात् मात्र पाउने सर्टिफिकेट हो । नेपालमा यो सर्टिफिकेट पाउने नेपाल वायुसेवा निगम मात्र हो, अरु छैन ।
यो राज्यको सम्पत्ति हो र आफ्नै राष्ट्रिय ध्वजाबाहक फहराउंदै देश बिदेशमा उच्चस्तरीय भ्रमण हुँदा सबैको छाती गर्वले फुल्छ । मर्दा, पर्दा, अलपत्र हुँदा निगमले तुरुन्त उडेर उद्धार गरेको छ । इजरायलको घटना होस वा लकडाउन होस् वा अफगानिस्तानको आक्रमण होस् वा जाजरकोटको भूकम्प होस् देशले नेपाल वायुसेवा निगममार्फत सशक्त उपस्थिति देखाएको छ । भन्ने बित्तिकै उडेर सेवा दिएको छ । नेपाल वायुसेवा निगम देशको पहिचान हो, इज्जत हो । अरु देशसँग जोडिने गगन – सेतु हो । निगमले उडान भरेर र ग्राउण्ड ह्याण्ड्लिङ गरेर विदेशी मुद्रा आर्जन गर्छ, प्रत्यक्ष रेमिटेन्स भित्र्याउँछ ।
यसले यात्रु र पर्यटक बोकि बर्सेनि करिब रु २० अर्ब बराबरको विदेशी मुद्राको संचिति बढाइ देश अर्थिक रुपमा समृद्ध गर्न सघाउँछ । आफ्नो कमाइको १५% रोयल्टी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई र १३% भ्याट एवम् आयकरसमेत सरकारलाई बुझाइरहेको छ । सन्चयकोष र नागरिक लगानी कोषको ऋण पनि तिरिरहेको छ । दुर्गम क्षेत्रमा उडान भर्ने जहाजसमेत थप्दै छ ।
यसो हुँदा किन माफियाहरुको टाउको दुख्छ ? पटक पटक निगमको ग्राउन्ड ह्यान्ड्लिङ खोस्न किन लागि परिरहन्छन् ? माफियाहरुको चलखेलमा सरकार किन पर्छ ? जसले निगमलाई सिध्याउन खोज्यो त्यो सिद्धिएको ईतिहास साक्षी छ, कसैको पद गएको छ त कोही सिधै माथि गएका छन् । चेतना भया ।