Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिन लोसपा महासचिव महासेठको माग



काठमाडौं,२९ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव अनिलकुमार महासेठले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् ।

२०७२ भदौं २५ गते मधेश आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा परेर ज्यान गुमाएका सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोगमा जिल्ला अदालतबाट मधेश प्रदेश सभाका सांसद तथा प्रदेश दलका नेता अभिराम शर्मासहितका नेताहरुलाई जन्कैदको फैसला सुनाएपछि उनले नैतिकताका आधारमा सरकारमा बसिरहन नहुने भन्दै सबै तहका सरकारबाट बाहिरिनुपर्ने बताएका हुन् ।

फेसबुकमा स्ट्याटस लेख्दै महासेठले पार्टीको मधेश प्रदेशका संसदीय दलका नेता प्रदेश सांसद तथा पुर्वमन्त्री अभिराम शर्मालाई एउटै घटनामा नियतवस फसाउने काम भएको भन्दै सबै सरकार परित्याग गरि सडकमा आउनुपर्ने बताएका छन् ।

उनले लेखेका छन,‘मधेश प्रदेश संसदीय दलको नेता मा.अभिराम शर्मा लगायत पार्टीका अन्य नेता जी हरुकोबारेमा आजको महोत्तरी जिल्ला अदालतको निर्णयपछि पार्टीले सबैभन्दा पहिला सबै तहको सरकारबाट आफ्नो समर्थन फिर्ता लिनु पर्छ! बिगतमा पनि तत्कालीन राजपा पार्टी हुँदा मा.रेशमलाल चौधरीको बारेमा कैलाली जिल्ला अदालतको दुर्भाग्यपूर्ण फैसलापछि तत्कालीन सरकारबाट समर्थन फिर्ता लिएको नजिर छ ! पहिला त आफैबाट सुरु गर्नुपर्यो अनिमात्र अन्य समान बिचारधाराको पार्टी र शक्तीँसग सहकार्यमा अन्य कार्यक्रम घोषणा गर्नुपर्छ !’।

बिहीबार महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो । हत्या अिभयोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरलाई भेन अदालतले सफाइ दिएको थियो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका थिए ।

अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद हुन्। उनीहरू महोत्तरी ३(१) बाट निर्वाचित भएका हुन्। 

रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्। मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्