काठमाडौं, २९ मंसिर । रुकुम पश्चिमको सोतीमा ज्यान गुमाएका नवराज विकसहित छ जनाको हत्या प्रकरणमा उनीहरुका अभिभावकहरुले आज (शुक्रबार) काठमाडौंमा धन्यवाद र्याली निकालेका छन् । न्यायको पक्षमा फैसला भएको भन्दै उनीहरुले आज धन्यवाद र्याली निकालेका हुन् ।
०७७ जेठ १० गते आफ्नी प्रेमिकालाई लिन भन्दै जाजरकोटको भेरी नगरपालिका– ४ का नवराज विक आफ्ना साथीहरूसँग रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ को सोती पुगेका थियो ।
सोही क्रममा मल्ल थरकी प्रेमिका र नवराजको जात नमिल्ने भन्दै त्यहाँका स्थानीयले प्रतिकार गर्दा नवराजसँगै २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही मारिएका थिए ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । अदालतको सो फैसलालाई सम्मान गर्दै पीडित परिवारले काठमाडौंमा र्याली निकालेर धन्यवाद ज्ञापन गरेका हुन् ।
दिउँसो २ बजे भृकुटमण्डपबाट निकालिएको र्याली रत्नपार्कस्थित शान्तिवाटिका पुगेर धन्यवाद–सभामा परिणत भएको छ । उक्त र्यालीमा पीडितका परिवार, मानव अधिकारकर्मी, दलित अधिकारकर्मी र कानुन व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । उनीहरुले ‘छोरा मरे, न्याय मरेन’ लेखिएको ब्यानरसहित र्याली गरेका थिए । Photo By: Mukunda Kalikote/RN