Logo

एमालेसँग एकता वा सहकार्यको सम्भावना छः मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, १ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले नेकपा (एमाले) सँग एकताको सम्भावना कायमै रहेको बताएका छन् । उनले परिस्थितिले माग गरेको खण्डमा एमालेमात्रै नभएर अरु राजनीतिक दलहरुसँग पनि सहकार्य हुनसक्ने उनले बताए ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेसँग एकता, सहमति र सहकार्य गरेर अगाडि जान सकिने बताएका हुन् ।

‘राजनीतिमा एकता गर्ने र विभाजन हुने कुरा निरन्तर चलिरहने प्रक्रिया हो । आज हामी विभाजित छौं, भोलि फेरि मिल्न सक्छौं । एमाले र एकीकृत समाजवादीमात्रै होईन, अरु राजनीतिक दलका बीचमा पनि सहकार्य हुनसक्छ । सहमति गरेर अगाडि जानसक्छौं । त्यसैले परिस्थितिले, समयले के चिजको माग गरिरहेको छ, त्यही अनुसार, परिस्थितिले माग गर्यो भने नेपालको कम्युनिष्ट आन्दोलन एकता हुनसक्छ,’– उनले भने ।

अहिले हरेक ठाउँमा एकीकृत समाजवादीले आफ्नो भूमिका प्रदर्शन गरिरहेको उनको दाबी छ । एकीकृत समाजवादी यो देशको नेतृत्व गर्ने हैसियतमा नरहेकाले चाहेजति जवाफदेही भएर काम गर्न नसकिएको उनले बताए । एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुले आफ्नो क्षमताले भ्याएसम्म इमानदारितापूर्वक काम गरिरहेको उनले बताए ।

सरकारले अहिले पनि निर्माण ब्यबसायीलाई भुक्तानी दिन नसकेको र सरकारले चाहेजति काम गर्न नसकेको उनले बताए । अहिले जुनसुकै मन्त्रालयले पैसा छैन भनिरहेको उनले सुनाए । प्रधानमन्त्री र अर्थमन्त्रीले स्रोत, साधन जुटाएर समस्याको समाधान गर्नुपर्ने र पैसा छैन भन्न नपाईने उनले बताए । नेपालको सन्दर्भमा सरकारमा बसेपछि सबै काम गर्यौं भन्ने निश्कर्षमा पुग्ने र विपक्षीले केही पनि काम गरेन भन्ने कल्चर रहेको स्मरण गराउँदै उनले वर्तमान सरकारले जति काम गर्नुपथ्र्यो त्यो गर्न नसकेको बताए ।

‘अहिले पैसा छैन भनेर अर्थमन्त्रीले भन्नुहुन्छ । म यसमा विश्वास गर्दिँन । अर्थमन्त्रीले पैसा छैन भन्न मिल्दैन । पर्याप्त पैसा मन्त्रालयमा छैन । त्यसैले नयाँ प्रोजेक्ट सुरु गर्नुभन्दा पनि पुरानै प्रोजेक्ट सञ्चालन गर्नुपर्छ । प्रधानमन्त्री र अर्थमन्त्रीले पैसा छैन भन्न पाउनुहुन्न,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्