Logo

उखुको समर्थन मूल्य तोकेर किसानका समस्याप्रति गम्भीर बन्न माग गर्दै कृषि मन्त्रीलाई कांग्रेस सांसद चौधरीले पठाए पत्र



काठमाडौं,१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोकेर किसानका मागहरुप्रति गम्भीर बन्न माग गर्दै कृषिमन्त्रीलाई पत्र लेखेका छन् ।

सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन् ।

‘नवलपरासी (सुप) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरू उखु खेतीतर्फ साह्रै उत्साहित देखिन्छन् । किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ सांसद चौधरीले भने, ‘चालु आर्थिक वर्ष २०८०-८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरू अन्योल र मर्कामा परेका छन् ।’

सांसद चौधरीले समयमै मूल्य नतोकिएको कारणले उद्योगहरुले पनि उखु खरिद नगरेको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘ केही किसानहरु उखु फुल्ने डरले चिन्तित भई भेली (सख्खर) उत्पादकहरुलाई सस्तो दरमा उखु बिक्री गर्न बाध्य भएका छन् । केही किसानहरु आफैं उखु क्रसिङ गरी भेली उत्पादन गर्नतिर लागेका देखिएका छन् । फलतः किसानहरुले उखुको उचित मूल्य प्राप्त गर्न सकिरहेका छैनन् । यसर्थ, यस आ।व।२०८०-८१ का लागि यथाशीघ्र समर्थन मूल्य निर्धारण गरीदिनु भई अनुदान वापतको रकम समयमै भुक्तानी हुने व्यवस्था गरी दिनु हुन माननीय मन्त्रीज्यूमा अनुरोध गर्दछु’ ।



प्रतिक्रिया दिनुहोस्