काठमाडौं,१ पुस । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्यालले आफ्नो कार्ययोजना र प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।
आइतबार संसदीय सुनुवाइ समिति समक्ष १५ पेज लामो आफ्नो कार्ययोजना र प्रतिबद्धता पेश गर्दै पौड्यालले आफू सर्वोच्चको न्यायाधीश अनुमोदन भएमा सदैव निष्पक्ष भएर काम गर्ने दाबी गरेका छ्न । पौडेलले भनेका छन्,‘सर्वोच्च अदालतको न्यायाधीशको रूपमा कार्य गर्दा पनि म इमानदारिता, निष्ठा र न्यायको मार्गबाट कहिल्यै विचलित नभई लगनशीलताका साथ न्यायका शाश्वत मूल्य, मान्यता र आदर्शहरूप्रति प्रतिबद्ध रहँदै असल आचरण र आदर्श व्यवहारबाट आफूलाई देश र जनताको सेवामा उत्सर्ग गरी न्याय सम्पादन कार्यलाई सरल, सहजता, स्वच्छ, निष्पक्ष, गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाई न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कुरामा अहोरात्र प्रयासरत र प्रतिबद्ध रहनेछु ।’
पौड्यालले आफ्नो कार्ययोजनामा भनेका छन ‘ म सर्वोच्च अदालतमा नियुक्ति भएमा न्यायाधीशको रुपमा न्यायसम्पादनको कार्य गर्ने मुख्य कार्य जुन मैले स्वतन्त्रतापूर्वक निर्वहन गर्न सक्ने र अदालतको व्यवस्थापनको कार्यमा म प्रशासकीय र प्रत्यक्ष भूमिकामा नहुने भएकाले सो कार्यमा सहयोगीर पृष्ठपोषणको भूमिकासम्म रहने हुन्छ । त्यसैले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति भएपछि मेरो कुनै भिन्न कार्ययोजना भन्दा पनि न्यायपालिकाले अवलम्बन गरेको पञ्चवर्षीय रणनीतिक योजना र न्यायिक नेतृत्व अर्थात सम्माननीय प्रधान न्यायाधीशले अख्तियार गर्नुभएका कार्ययोजना अनुरुप नै कार्य गर्नुपर्ने हुन्छ । न्यायपालिकाको चालु चौथो रणनीतिक योजनामा छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने, न्याँयमा पहुँच अभिवृद्धि गर्ने, न्यायपालिका प्रतिको जनआस्था र विश्वास अभिवृध्दि गर्ने कुरामा म सदैव दृढ रहेको छु ’ ।
उनले आफ्नो इजलासमा सुनुवाईका क्रममा मुद्दाको प्रकृति र बहसमा लाग्न सक्ने समयको अनुमान गरी पक्षहरुलाई बहस समय निर्धारित गर्ने, मानवीय कारण परेमा बाहेक पुराना मुद्दाको पेशी स्थगित नहुने स्थिति कायम गर्न वहशमा Lead Lawyer अवधारणा लागू गरी १ जना Lead कानुन व्यवसायीको बहस सुन्ने र अन्य कानून व्यवसायीहरुबाट पेशी अगावै लिखित बहस बुँदाहरु लिने, अपवादात्मक अवस्थामा बाहेक एक पक्षबाट सामान्यतया २ पटकभन्दा बढी पेशी स्थगन गर्न नपाउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जस्ता कार्य गरी इजलासको समय, वहस तथा सुनुवाइ व्यवस्थापन गर्न आफू प्रयत्नशील रहने उल्लेख गरेका छन् ।
‘फैसला लेखनको कार्यलाई यथाशक्य कानूनद्वारा सुनिश्चित समयावधिभित्र तयार गरी प्रमाणीकरण गर्ने कुरामा म प्रयत्नशील रहने छु । अपवादको अवस्थामा बाहेक आदेशहरु यथाशीघ्र तयार गर्ने मेरो प्रयत्न रहने छ।’ उनले भनेका छन् ।
प्रस्तावित न्यायाधीश पौड्यालले न्यायिक इमान्दारिता वा शुद्धता, स्वतन्त्रता, निष्पक्षता न्यायिक कार्यको प्रभावकारी रूपमा संचालनका लागि आफू सदैव सचेत रहेका उल्लेख गर्दै भनेका छन्‘ न्यायिक स्वतन्त्रता र निष्पक्षता, न्यायिक इमान्दारिता, न्यायिक उत्तरदायित्व र न्यायिक पारदर्शीता जस्ता मान्यता र माध्यमका आधारमा न्यायिक सुशासन कायम गर्ने कुरामा म सदैव क्रियाशील रहने छु’।
संसदीय समितिको जारी बैठकमा पौड्यालसहित अर्का न्यायाधीशमा प्रस्तावित टेकप्रसाद ढुंगानाको पनि आजै सुनुवाइ हुनेछ । सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनीहरु सर्वोच्चको न्यायाधीश नियुक्त हुनेछन् ।