Logo

शिव शिखर सहकारी पीडितले बनाए संघर्ष समिति, बचत फिर्ताको लागि पहल लिइदिन सरकारसँग माग



काठमाडौं, १ पुस । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट बचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । हिजो (शनिबार) काठमाडौंमा पीडित बचतकर्ताहरुको भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले संघर्ष समिति गठन भएको जानकारी गराएका हुन् ।

शिव शिखर सहकारीमा बचत गरेका करिब एक लाख ८० हजार बचतकर्ता र लगानी संस्थाहरुको अर्बौं रकम डुब्ने खतरा रहेकाले बचतकर्ताको रकम संरक्षणका लागि संघर्ष समिति बनाइएको संयोजक लम्सालले बताए ।

‘सहकारीको विश्वासमा परेर एक लाख ८० हजार बचतकर्ताले बचत गर्दै आएका थिए । जसको बचत रकम करिब १० अर्ब छ । शिवशिखरको नाममा पैसा उठाउने काम यसका संस्थापक अध्यक्ष केदारनाथ शर्मा जो अहिले कैलाली कारागारमा छन् । केदारनाथ शर्मा संस्थापक भएको शिवशिखर सहकारी संस्थालाई नेपाल सरकारले ठगी गर्ने लाइसेन्स दिएको जस्तो भएको छ,’– अध्यक्ष लम्सालले भने ।

संघर्ष समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ सह–संयोजक महेन्द्र महर्जन, सह–संयोजकहरुमा शुभाषचन्द्र भट्ट (सुदूरपश्चिम प्रदेश), गणेश थापा (कर्णाली प्रदेश), सागर भण्डारी (लुम्बिनी), खेमराज सापकोटा (गण्डकी), बद्रिनाथ पोखरेल –बागमती) रहेका छन् ।

सचिवमा गणेश मल्ल, कोषाध्यक्ष चक्रमान श्रेष्ठ, सूचना सदस्य सुमन गोपाली, सदस्यहरुमा वेद प्रकाश महरा, केशव क्षेत्री, तारा कुँवर, छविलाल बस्नेत र तुल्सीराम कोजु रहेका छन् । त्यसैगरी, सल्लाहकारहरुमा विमल साउद, कमला जोशी र सुन्दर बानियाँ रहेका छन् ।

संघर्ष समितिले नेपाल सरकारसँग बचतकर्ताकोे सभ्य र शान्त आवाजलाई कमजोरीका रुपमा नलिन अनुरोध गरेको छ । साथै, शिव शिखरका संस्थापक अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा बैंकमा रहेको कर्जा विना ब्यज चुक्ता गराएर बाँकी रकम पीडित बचतकर्तालाई फिर्ता गराउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् ।

साथै, संघर्ष समितिले शिव शिखरका अध्यक्ष शर्माले जग्गा किन्नका लागि दिएको अग्रिम रकम संकलन गरी फिर्ता लिनुपर्ने रकम एक लाखभन्दा कम भएका बचतकर्तालाई फिर्ता गर्न सुरु गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी, शिव शिखर सहकारीबाट प्रवाहित कर्जा असुल उपर गर्न सरकारले पहलकर्मी लिनुपर्ने उनीहरुको माग छ । उनीहरुले शिव शिखर सहकारीका अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा विभिन्न वित्तीय संस्थाले कर्जा प्रवाह गरेको र ती वित्तीय संस्थाहरुले लिलामीमार्फत् आफ्नो–आफ्नो कर्जा असुलउपर गर्न थाल्दा बचतकर्ताको बचत डुम्ने खतरा बढेको बताएका छन् । उनीहरुले लिलामी प्रक्रिया रोक्न समेत सरकार समक्ष आग्रह गरेका छन् । उनीहरुले बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता र बचत रकम फिर्ताको लागि पहल लिन सरकारसँग माग गरेका छन् ।

शिव शिखर सहकारीका देशभर ३६ वटा शाखा कार्यालय रहेका छन् । हाल शिव शिखरका सञ्चालक असिम राज भण्डारी, पुष्पकर मल्ल र अध्यक्ष शर्मा र उनकी श्रीमती गीता पक्राउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्