काठमाडौं, १ पुस । साना किसान कृषि सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाको भवन धादिङको गल्छी–२ कल्लेरी कल्लेरीटारमा भएको साधारण सभाले कल्याण आचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समित तथा नवराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको चयन गरेको छ ।
अघिल्लो २ कार्यकाल अध्यक्ष समेत रहेका रमेश खतिवडाले नयाँ समिति चयनमा सहमतिको पहल लिँदै सर्वसम्मत रुपमा नयाँ समिति चयनका लागि मार्गप्रसस्त गरेका थिए ।
अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न साधारण सभामा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष भाइकाजी तिवारीको विशेष आतिथ्यता रहेको थियो ।
साधारण सभाले संस्थाका अध्यक्ष रमेश खतिवडाको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रमुख सरोज आचार्यको लेखा सुपरिवेक्षण प्रतिवेदन, संस्थाका मुख्य प्रवन्धक ज्ञान प्रसाद खतिवडाको प्रतिवेदन पारित गरेको छ ।
वि सं २०५१ सालमा स्थापना भएको सहकारीमा दुई सय ५१ समुहमा एक हजार चार सय १९ साना किसान सदस्यहरु आवद्ध छन् । २०८० असार मसान्त सम्म सहकारीमा दुई करोड ८३ लाख ३२ हजार शेयर रकम, १० करोड ५९ लाख निक्षेप रकम रहेको छ भने आर्थिक वर्ष २०७९/८० मा सहकारीले कूल ३१ करोड ४८ लाख ८४ हजार लगानी गर्दै खुद ९७ लाख ८४ हजार नाफा गरेको छ भने संस्थाको असुली दर ९८.८५ प्रतिशत रहेको छ ।