काठमाडौं, २ पुष । ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । लिमिटेडको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको जनाईएको छ ।
बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका बराल मिति २०८० पौष १ गते देखि लागू हुनेगरी उक्त ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेकोे अनुभव रहेको छ । यसका साथै, एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव रहेको छ ।
भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।