Logo

मतदाताबाट अस्वीकृत भएका नेताको राष्ट्रिय सभामा जान होडबाजी, रोक्ने प्रयासमा युवाहरु



काठमाडौं,२ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दलले चुनाव चिन्ह पाएका छन् ।

आयोगको आइतबार बसेको वैठकबाट माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न १२ राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगले यसरी दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ । आयोगले तोकेको अवधिमा दर्ता भएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र,राप्रपा,जसपा नेपाल, जनमत, लोसपा,नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी कूल १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता सहसचिव शालीकराम पौडेलले जानकारी दिए ।

आयोगमा दल दर्ता भईसकेको र दलहरुले चुनाव चिन्ह पाएसँगै चुनावमा उम्मेदवार बन्नका लागि आकांक्षीहरुले दौडधुप बढाएका छन् । आगामी फागुन २० गते राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये २० जनाको पदावधि रिक्त हुँदैछ । जसमा १९ जनाको पदपूर्ति निर्वाचनमार्फत र एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

फागुन २० गतेबाट राष्ट्रिय सभामा रहेका सदस्यमध्ये कोशी प्रदेशबाट कांग्रेसका रमेशजंग रायमाझी र नेकपा माओवादी केन्द्रकी विना पोखरेलको पदावधि सकिँदैछ । रायमाझी अन्यबाट र पोखरेल महिला कलस्टरबाट निर्वाचित भएका थिए ।

मधेश प्रदेशबाट पनि २ सांसद फागुन २० गतेबाट बिदा हुँदैछ । जसमा नेपाली कांग्रेसका जितेन्द्र नारायण देव र जनता समाजवादी पार्टीकी प्रमिला कुमारी रहेका छन् । प्रमिला संघीय सरकारकी शिक्षा राज्यमन्त्रीसमेत हुन् । त्यस्तै बागमती प्रदेशबाट नेकपा एमालेका दीलकुमारी थापा रावल पार्वती र रामचन्द्र राईसँगै नेकपा एकीकृत समाजवादीका सिंहबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि सकिँदैछ । देवकोटा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको स्थानमा नेकपा एकीकृत समाजवादीको चुनाव चिन्हमार्फत सांसद निर्वाचित भएका थिए ।

यता गण्डकी प्रदेशबाट पनि फागुन २० गते नेपाली कांग्रेसका प्रकाश पन्थसहित नेकपा एमालेका गणेशप्रसाद तिमिल्सिना र दीपा गुरुङ बिदा हुँदैछन् । तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष हुन् । लुम्बिनीबाट पनि नेपाली कांग्रेसकी अनिता देवकोटा र नेकपा एमालेका कुमार दसौंदी बिदा हुँदैछन् ।

त्यस्तै कर्णालीबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंसहित एमालेका नरपति लुहार र भैरवसुन्दर श्रेष्ठको पदावधि सकिँदैछ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट पनि आगामी फागुन २० गतेबाट माओवादी केन्द्रका महेशकुमार महरा र हरिराम चौधरी र नेकपा एमालेकी इन्दू कडरियाको पदावधि सकिँदैछ । ७ प्रदेशका गरी निर्वाचित १९ जना र सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीति गरेकी डा.विमला राई पौड्याल राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।

माघ ११ गतेका लागि निर्धारण गरेको चुनावमा हालको सत्ता गठबन्धनमा सामेल दलहरुले यसअघि नै मिलेर चुनावमा भाग लिने निर्णय गरिसकेका छन् । सातै प्रदेशमा सत्ता गठबन्धन कायम रहेमा निर्वाचन हुने १९ सीटमा नै सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुने निश्चित रहेको छ । सत्ता गठबन्धन कायमै रहने हुँदा हालसम्म सत्तारुढ दलका नेताहरुले मात्र उम्मेदवारका तीव्र लबिङमा रहेका छन् ।

फागुन २० गतेबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि पदावधि सकिने भएकाले अध्यक्ष बन्नका लागि पनि नेताहरुले आफ्नो लबिङ थालेका छन् । हालसम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट नेताहरुले शीर्ष नेताको घरमा आकाँक्षीको लर्को लाग्ने गरेको स्रोतले बताएको छ ।

अध्यक्षका लागि नेपाली कांग्रेसबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पूर्प उपसभापति गोपालमान श्रेष्ठ मूख्य दोवदार हुन् । संविधान सभाबाट संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका सिटौला २०७४ र ०७९ सालको संघीय निर्वाचनमा भने झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भारी मतान्तरले पराजित भएका थिए । भने श्रेष्ठ ०७४ मा एमोल सचिव पद्या अर्यालसँग पराजित हुँदा ०७९ मा आदिवासी जनजातितर्फ समानुपातिकको एक नम्बरमा रहेर पनि सांसद बन्न पाएका थिएनन् । सभापति शेरबहादुर देउवाले खस आर्यसूचीबाट प्रकाशशरण महतलाई सांसद बनाएपछि श्रेष्ठ सांसद बन्नबाट बञ्चित भएका थिए ।

राजनीतिको उर्ताधमा आईपुगेका सिटौला र श्रेष्ठ दुबै यसपट अध्यक्ष बनेर राजनीतिक यात्राबाट सुरक्षित अवतरण गर्न चाहन्छन् । तर, कांग्रेसभित्र संस्थापन इतर समूहले उनीहरुलाई रोक्ने प्रयाससमेत गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहको गत बुधबार बसेको भेलामा निर्वाचनमा पराजित भएका कुनैपनि नेताहरु त्यहि कार्यकालका लागि राष्ट्रिय सभामा जान नपाउने व्यवस्था पार्टीले गर्नुपर्ने आवाज उठेको थियो । संस्थापन इतर समूहका नेता गुरुराज घिमिरेलगायतका नेताहरु पराजित भएका नेतालाई राष्ट्रिय सभामा लैजान नहुने बताउँदै आएका छन् । यहि इतर समूहले भनेजस्तै भए कांग्रेसमा अध्यक्षका लागि दावेदार रहेका सिटौलासहितका नेताहरु उम्मेदवा बन्नबाट बञ्चित हुनेृछन् ।

कांगेसबाट सिटौला र श्रेष्ठले जस्तै सत्ताको नेतृत्व गरिरहको पार्टी नेकपा माओवादी केन्द्रबाट पनि नारायणप्रसाद दाहाल अध्यक्षका दावेदार हुन् उनी राष्ट्रपतिबाट मनोनीत सदस्यका साथै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालका सहोदर भाई हुन् । दाहालसँगै माओवादी केन्द्रबाट पूर्व सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडाँरीपनि अध्यक्षका आकांक्षी हुन् । उनी २०७४ सालमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत भएका थिए । गोलाप्रथामा ४ वर्षे कार्यकाल पाएका बिडाँरी ०७८ मा राष्ट्रिय सभाबाट बिदा भएका थिए । यता नेकपा एकीकृत समाजवादीबाट पनि उपाध्यक्ष प्रमेश हमाल र घनेन्द्र बस्नेतले पनि आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका छन् ।

सत्ता गठबन्धनमा भएको मोटामोटी सहमति अनुसार नेपाली कांग्रेसले ९, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले ३ र जसपाले एक सीट पाउनेछन् । तर, सत्ता गठबन्धनमा रहेका जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि आफूहरुलाई एक सीट दिनुपर्ने दाबी गर्दै आएका छन् ।

कुन दलबाट को को छन् आकांक्षी

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट सबैभन्दा धेरै आकाक्षी देखिएका छन् । जसमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाह मन्सुर नेताहरु आनन्द ढुंगाना,बालकृष्ण पाण्डे, बलबहादुर केसी, भूपेन्द्रजंग शाही, मिनेन्द्र रिजाल, अरुण सुवेदी,डा.गोबिन्दराज पोेखरेल, मनोजमणि आर्चाय, उमेश श्रेष्ठ, अनिल रुङ्टा, दीपकप्रकाश बाँस्कोटा र वरिष्ठ कलाकार नीर शाह रहेका छन् ।

रिजाल ०७९ को निर्वाचनमा कांग्रेसबाट मोरङ २ मा टिकटका आकांक्षी थिए । तर, सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापुत्री सुजता कोइरालालाई टिक दिएपछि उनी टिकटबाट बञ्चित भएका थिए । पार्टीभित्र संस्थापन इतर समूहमा रहेका उनी संस्थापन इतर समूहको तर्फबाट उम्मेदवार बन्ने दाउमा छन् ।

त्यस्तै सुवेदी राजनीतिक विश्लेषक हुन् । देउवा प्रधानमन्त्री हँुदा परराष्ट्र सल्लाहकार रहको उनले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै ढुंगाना कांग्रेस अनुशासन विभागको प्रमुख हुन् भने पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व सीईओ हुन् ।

यता सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट पनि महासचिव देव गुरुङ, नेताहरु लिलामणि पोखरेल, रामनारायण बिडाँरी, विश्वनाथ साह, डोरप्रसाद उपाध्याय ,गिरिराजमणि पोखरेल, गणेश साह, मातृका यादव, प्रल्हाद शर्मा, रामेश्वर राय यादव, हरिबोल गजुरेल, राम कार्की,अजयशंकर नायकदेखि रेणु चन्दसम्म आकांक्षी रहेका छन् । गुरुङ गत वर्ष भएको संघीय निर्वाचनमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका थिए भने नायक पूर्व कानूनमन्त्री हुन् ।

नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेशकी अध्यक्ष सावित्रा भुसाल, दोलखाका नेता शिव भण्डारीहरू उम्मेदवार बन्न जोड लगाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्