काठमाडौं,२ पुस । मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आफ्नो अनशन तोडेका छन् ।
कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दीरको धर्मशालामा ७२ घण्टादेखि अनशनरत केसीले स्थानीय अञ्जली नेपाली र रेनुका चौकरीको हातबाट जुस पिउँदै अनशन स्थगित गरेका हुन् ।
उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।
केसीको यो २१औं पटकको अनशन हो । उनले यसअघि विभिन्न माग प्रस्तुत गर्दै २०औं पटक अनशन बसिसकेका छन् ।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१औँपटक अनशनमा बसेका थिए । ।