काठमाडौं,४ पुस । एनसेलको शेयर खरिद बिक्री प्रकरणलाई लिएर संघीय संसदको दुईवटा समितिबीचको विवाद छाताछुल्ल भएको छ ।
मंगलबार एनसेल प्रकरणबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गरेको थियो । राज्य व्यवस्था समिति समितिले यसअघि नै प्रधानमन्त्रीलाई पुस ३ गते समितिमा बोलाउने निर्णय गरेको थियो ।
तर,संसदकै अर्का समिति सार्वजनिक लेखा समितिले यस विषयमा सुरुवात देखिनै छानबिन लगायतका काम गर्दै आएको छ । लेखा समितिको अघिल्लो बैठकले १५ दिनभित्रमा यथार्थ जानकारी समितिलाई गराउन निर्देशन दिएको थियो ।
यसरी आफूहरुले गरिरहेको कामलाई ओझेलमा पार्न र एनसेल प्रकरणलाई ढिसमिस बनाउने प्रपञ्च गरिएको भन्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आपत्ति जनाएका थिए ।
एनसेल प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएपछि पोखरेलले आक्रोश व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भनेका छन्,“सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”
मंगलबार राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग छलफल गरेको थियो । तर, एउटा समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी प्रधानमन्त्रीसहितलाई बोलाउने र अनि प्रधानमन्त्री त्यहीँ गएर यस्तो प्रस्तुति दिने कुराले सरकारी प्रायोजनमा समिति चल्न थालेको र यो भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई ढाकछोप गर्ने काम गरेको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।
यता लेखा समिति जस्तो जिम्मेवार समितिका सभापतिले अर्को समितिलाई आक्षेप लगाएको भन्दै राज्य व्यवस्था समितिले आपत्ति जनाएको छ । बुधबारको राज्य व्यवस्था समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आपत्ति जनाउँदै पोखरेलको अभिव्यक्तिप्रति प्रतिरोधमा उत्रिएको हुन् ।
लेखा समितिका सभापतिको यो आरोप राज्यव्यवस्था समितिमाथि रहेको थापाको भनाइ छ । राज्यव्यवस्था समितिले मंगलबार मात्रै प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई बोलाएर एनसेल खरिद-बिक्रीबारे छलफल गरेको थियो ।‘संसद्को एक समितिका एक सभापतिले अर्को समितिका विषयमा यस्तो निम्न स्तरमा उत्रिएर टिप्पणी गर्ने हो ? यो संसद्को गरिमा र मर्यादासँग जोडिएको विषय हो,’थापाले भने,‘सभामुखसँग यो विषय गम्भीरतापूर्वक उठाउन माग गर्दछु । यो विषयमा समितिका तर्फबाट सभामुखसँग यो विषय जानुपर्छ ।’
थापाको भनाइपछि समितिका सभापति रामहरि खतिवडाले आजै सभामुख देवराज घिमिरेलाई भेटेर यसबारेमा जानकारी गराउने र छलफल गर्ने प्रष्ट पारेका छन् ।
यो पनि