काठमाडौं,५ पुस । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टिम एपीएफलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
माथिल्लो मूलपानीस्थित मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभमा ९ विकेट गुमाएर मात्र ८७ रन जोड्यो । उसका लागि कविता जोशीले २२ तथा सम्झना खड्काले १२ रन जोड्नु बाहेक अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ एपीएफकी सोनु खड्काले २ तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले समान १ विकेट लिईन् ।
पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।
तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७-७ खेल खेल्नेछन् ।
लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।