काठमाडौं,५ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले एक्लै चड्नुपर्ने बताएका छन् ।
बिहीबार कोशीको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले कांग्रेस संसदको सबैभन्दा ठूला दल भएर पनि गठबन्धनको फेरो समात्न नहुने बताए ।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । राष्ट्रिय सभामा रहेका २० सदस्यको पदावधि यहि फागुन २० गतेबाट सकिँदैछ । संविधानमा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्रिय सभाच निर्वाचनमा हालकै सत्तारुढ गठबन्धनले मिलेर चुनावमा भाग लिने सहमति गरिसकेका छन् ।
फरक प्रशंगमा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबीसमेत गरेका छन् । उनले मन्त्रीहरुको नभई स्वयं प्रधानमन्त्री कै रिपोर्टकार्ड सार्वजनिक गर्नुपर्ने बताए ।
‘मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन,’ उनले थपे, ‘एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”