Logo

पीएम कप महिला टी-२०: गण्डकीबाट लुम्बिनीले पायो १०३ रनको लक्ष्य



काठमाडौं,५ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा गण्डकी प्रदेशले लुम्बिनीलाई १०३ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०२ रन जोड्यो ।

गण्डकीका लागि नटआउट रहँदै सुमन खतिवडाले ३३ रनको उत्तृष्ट पारी खेलिन् । १८ बलमात्र सामना गरेकी उनले ५ चौका हिर्काईन् । त्यस्तै अञ्जली विकले ३० रन जोड्दा सिर्जना पौड्यालले पनि १९ रन थपिन् ।

बलिङतर्फ लुम्बिनीकी मधु डीसी, सरस्वती पुन र कमला घर्तीमगरले समान १ विकेट लिए ।

पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।

तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७-७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्